नुवाकोटको तारुकामा गोरु जुधाउने मेला : प्रशासनले रोक्यो तर किसानहरुले टेरेनन्

नुवाकोट- नुवाकोट तारुकामा माघे संक्रान्तिमा आयोजना गरिने गोरु जुधाउने मेला कोरोनाका कारण औपचारिक रुपमा रोकिएपनि किसानहरु आफैंले  गोरु जुधाएर परम्परालाई निरन्तरता दिएका छन ।

स्पेनको वुल फाइटको झल्को दिने यो गोरु जुधाउने परम्परा धेरै पहिलेदेखि चल्दै आएको भन्दै किसानहरुले आफूहरुले परम्पराको विंडो थामेको बताए ।

नुवाकोटको गोरु जुधाइ मेला स्थगित भएपनि किसान आफैले चन्दनीको ठुलो वारीको पाटोमा गोरु ल्याएर जुधाए ।

गत वर्ष विजेता तथा उपविजेता गोरुधनीले पुरस्कार थाप्ने गरेको भएपनि यस पटक कसैले पनि गोरु जुधाई मेला औपचारिक रुपमा नगरेका कारण किसानले एकआपसमा गोरु जुधाएर परमपराको निरन्तरता र मनोरन्जनमात्रै लिएका छन् ।

सदियौंदेखि नुवाकोटकै पहिचानको रुपमा रहेको प्रसिद्ध गोरु जुधाई मेला कोरोनाको तेश्रो भेरियण्टका कारण रोकिएको हो । किसानहरुले तारुकाको चन्दनीमा भने आफैं गोरु जुधाएका हुन् ।

मेला सन्चालनको लामो अवधिमा पहिलो पटक गोरु जुधाई मेला रोकिएको थियो । स्थानीयवासीले आफैं जुटेर सामाजिक दुरी कायम गर्दै १५ हल गोरु जुधाएको तारुकाका युवा सामाजिक कार्यकर्ता दिपेश शाक्यले जानकारी दिए ।

गोरु जुधाई हेर्न नुवाकोटलगायत आसपासका सर्वसाधारण तारुकाको चन्दनी पुगेका थिए । स्वास्थ्य मापदण्डको पालना र सामाजिक दुरि पालना गर्दै यस वर्षको गोरु जुधाइ आयोजना गरिएको आयोजकको भनाइ छ ।

सदियौँदेखि प्रत्येक वर्षको माघे संक्रान्तिका दिन नुवाकोटको दक्षिणी भेगमा रहेको तारुका गोरु जुधाउने मेलाको रुपमा देशकै एकमात्र नमूना र पहिचानको रुपमा परिचित भइसकेको छ । सदरमुकाम विदुरदेखि ३० किलोमिटर दक्षिणपश्चिममा रहेको तारुकाको पर्यटकीय गाउँ चन्दनीमा किसानले आफैं मेलाको आयोजना गरेका थिए ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.