कविता : नेपाल टेलिभिजन

दृष्टिविहीनहरुको दृश्य
आवाज विहीनहरुको आवाज
असहायको सहायता
निरक्षर वस्तीको उज्यालो अक्षर
अन्धकारको शितल जून
कर्कश समयको मीठो लय
बनोस् नेपाल टेलिभिजन

छरेर सुविचार भरेर उमङ्ग
मिलाएर ताल समताको लयमा
गुन्जिरहोस् टोल,गाउँ र देशमा
बोकेर सिद्धान्त सचेतनाको
गाएर गीत निमुखाको पक्षमा
पिटेर झ्याली सु-समाचारको
युगौंदेखि युगसम्म
लम्किरहोस् नेपाल टेलिभिजन

बनाएर शाखा देशव्यापी
बन्दै विश्वासको धरोहर
सुकिलै राखेर छवि
तेजिलो घामको न्यानो जस्तै
सिमान्तकृत बस्तीमा
घमाइरहोस् नेपाल टेलिभिजन

बोकेर नारा समान अधिकारको
नभनेर महिला, नभनेर बालक
नभनेरै यो होचो यो अग्लो
बिर्सेर उच निचको गणित
समेटेर सबै सबै
काँधमा बोकेर बलियो भरोसा
अन्धविश्वास र कुरितीका विरुद्ध
बोलिरहोस् नेपाल टेलिभिजन

नबनेर राजनितिको अखडा
ननिहुरिएर शीर
मान्छेका केही थान स्वार्थको भरमा
जितेर जन विश्वास बन्दै भरोसाको केन्द्रबिन्दु
समेटेर राष्ट्रिय अन्तर्राष्ट्रिय घटना परिघटना
समेटेर कला, साहित्य र साधनाको गर्विलो आकाश
बनेर सम्पूर्ण पेसा व्यवसायीको
सम्झियोस् कृषि र कृषकलाई आफ्नै
र नुघोस् विस्वासले तिनका माथ
सम्झिएरै तिमीलाई
जसरी झुल्छ खेतबारीमा
मेहनतको बाली

जसरी चम्किन्छन् आकाशमा ताराहरू
नभनेरै निष्पट्ट अँध्यारो
हो त्यसैगरी सधैँ सधै निष्पक्ष रुपमा
चम्किरहोस् नेपाल टेलिभिजन

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.