सरकारी सेवा सुविधा विरलै पुग्ने बस्तीका सबैले लगाए कोरोना भाइरसविरुद्धका खोप

विराटनगर- विराटनगर महानगरपालिकाको– १९ बैजनाथपुरमा बसोबास गरिरहेका क्रृषिदेव समुदाय कष्टकर जीवन बिताउन बाध्य छन् । कुनै सीप र रोजगार नभएका कारण ती समुदायको दैनिकी सञ्चालनमा सकस त छ नै, शिक्षा र अर्थिक अभावका कारण उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ ।

आर्थिक एवं सामाजिक रुपमा निकै पछाडि परेका यी समुदायमा कोही पनि एसइईसम्म पढेका छैनन् । तरपनि अहिले यो समुदायका बालबालिका नजिकैका सामुदायिक विद्यालयमा अध्ययन गर्न गइरहेका छन् । हामीलाई दैनिक जीवनयापन गर्न त समस्या छ भने कसरी छोराछोरीलाई पढाउनु उनीहरुको पीडादायी प्रतिक्रिया छ ।

आर्थिक एवम् सामाजिक रुपमा पिछडिएका यो समुदायका लागि विराटनगर महानगरपालिकाले आवासगृह निर्माण गरेको छ । महानगरपालिकाको आवास कार्यक्रमअन्तर्गत ह्याविटेट नामक संस्थाले सहयोग गरेर अहिले ती समुदायका ३२ परिवारका लागि आवासगृह निर्माण गरेको छ । एक परिवारका लागि दुई वटा सुत्ने कोठा, एउटा भान्सा घर र शौचालयसहितको व्यवस्थित घर ह्याविटेटले निर्माण गरिदिएको छ ।

विराटनगर महानगरपालिकाले सो बस्तीमा नाला, बाटो बनाइ खानेपानीका लागि ट््युबेलसमेत जडान गरेको छ । यही भौतिक संरचनामा क्रृषिदेव परिवारको दिनचर्या चलिरहेको छ भने अहिले जाडोमा उनीहरुलाई न्यानो लुगा र पोषिलो खानेकुराको समेत अभाव देखिएको छ ।

ती समुदायका ३२ परिवारका लागि दुई वटा मात्र ट्युबेल रहेका छन् । एउटा बिग्रिदा खानेपानीको लागि निकै समस्या झेल्नु परेको ५९ वर्षीय फुलो क्रृषिदेवले बताउनुभयो । यो घर पनि हाम्रो लागि प्रयाप्त छैन् परिवारको सङ्ख्या बढ्दा बरण्डामा रात बिताउनु परेको पीडा उनको छ । .

फुलोको परिवारबाट दुई बालबालिका सामुदायिक विद्यालय जान्छन् । एउटा कक्षा पाँचमा र अर्को कक्षा सातमा पढ्दै छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण रोजगारी खोसिएपछि आर्थिक समस्या झेल्दै आएका नरेश क्रृषिदेवले ठेला चलाएर परिवारको गुजारा गर्दैछन् । दैनिक रु ४०० भन्दा बढी आम्दानी हुँदैन, के गर्नु, अर्को उपाय पनि छैन, त्यसैले कठिन जीवनयापन गर्न बाध्य भएको उनको भनाइ छ ।

उनका पनि दुई बालबालिका सामुदायिक विद्यालयमा अध्ययनरत छन् । सरकार सेवा र सुविधा विरलै पुग्ने यो बस्तीका व्यक्तिले भने कोरोना भाइरसविरुद्धका खोप लगाएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.