होटल याक एण्ड यतिको नाममा सञ्चालित क्यासिनोको इजाजत रद्द

होटलको स्तर वर्गीकरण प्रमाणपत्र पनि रद्द

काठमाडौँ- काठमाडौँको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी नबुझाएको भन्दै उक्त होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ ।

नियमित रुपमा बुझाउनु पर्ने रोयल्टी पटक पटक ताकेता गर्दा पनि नबुझाएपछि सरकारले इजाजत रद्द गरेको हो ।

याक एण्ड यति होटल लिमिटेड दरबारमार्गको क्यासिनो सञ्चालन इजाजतपत्र र होटल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको संस्कृति , पर्यटन तथा नागरिक उड्डययन मन्त्री प्रेमबहादुर आलेले जानकारी दिनुभयो ।

सरकारले विसं २०४८ पुस २२ गते सो होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेको थियो ।

सो क्यासिनोले बाँकी बक्यौता, इजाजतपत्र नवीकरण दस्तुर तथा रोयल्टी दस्तुर समेत गरी ४२ करोड २६ लाख सरकारलाई तिर्न बाँकी रहेको अभिलेख छ ।

उक्त होटलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राखिदिन समेत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरिएको छ ।

त्यस्तै राष्ट्र बैंकलाई उक्त होटलको नाममा बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का गरिदिन समेत अनुरोध गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.