कांग्रेस बागमती प्रदेश बैठक : एमसिसी सम्झौता जनता समक्ष लगिने

काठमाडौँ- नेपाली कांग्रेस बागमती प्रदेशले एमसिसीलाई केन्द्रले उठाएको विषयवस्तु समावेश गरी बुझ्ने सरल र स्पष्ट भाषामा जनतासमक्ष लैजाने निर्णय गरेको छ ।

सिन्धुपाल्चोकको सुकुटेमा सोमबार सम्पन्न भएको कांग्रेस बागमती प्रदेशको दोस्रो पूर्ण बैठकले एमसिसीबारे विषयवस्तु तयार गरी, भ्रमलाई चिर्दै जिल्लामार्फत स्थानीय तहमा पठाइ जनतालाई बुझाउने निर्णय गरेको हो ।

त्यस्तै आसन्न स्थानीय तहको निर्वाचनमा अघिल्लो निर्वाचनमा भएको मतसङ्ख्यासहितको तथ्याङ्क सङ्कलन गरी आगामी दिनमा खेल्नुपर्ने भूमिकासहित प्रदेशले जिल्ला पार्टीमा १५ दिनभित्र पठाउने र जिल्लामार्फत स्थानीय तहमा पठाउने निर्णय गरेको सहमहामन्त्री हरिशरण श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकले जगदिशनरसिं केसी, लामा कर्पु तामाङ, बलबहादुर दमाइँ, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेको छ । बैठकले प्रदेश कार्यसमितिका पदाधिकारी, सदस्य र विभिन्न समिति र विभागका सदस्यको मासिक लेवीसमेत तोकेको छ भने कांग्रेस बागमती प्रदेश संसदीय दललाई प्रदेशसभा सदस्यबाट पार्टी केन्द्रमा बुझाउँदै आएको मासिक लेवी प्रदेश कार्यसमितिलाई बुझाउन पत्राचार गर्ने निर्णय भएको सहमहामन्त्री श्रेष्ठले जानकारी दिनभयो ।

बैठकले प्रदेश कार्यालय हेटौँडा र सम्पर्क कार्यालय काठमाडौँमा नियमित सञ्चालन गर्ने, पार्टीको दैनिक राजनीतिक कार्यक्रम सुरु गर्ने, प्रदेश सदस्यको मर्यादाक्रम मिलाउन महामन्त्री कञ्चनचन्द्र बादे संयोजक र सहमहामन्त्री जीवन डङ्गोल एवम् ऋषिराम घिमिरेलाई सदस्य मनोनयन गर्ने निर्णय गरेको छ ।

कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षता तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको बैठकमा प्रदेश पदाधिकारी, सदस्य, जिल्ला सभापतिले एमसिसी, स्थानीय तहको निर्वाचन र प्रदेश कार्यसमितिले आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.