उपत्यकाका फुटपाथमा पार्किङ गरेका सवारी साधन हटाउन स्वीप अपरेशन अभियान

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी पार्किङ गर्ने सवारी साधनमाथि पुनः कारबाही अभियान थालेको छ ।

ललितपुरको पाटन क्षेत्रबाट जथाभावी सडक तथा फुटपाथमा पार्किङ गरेका सवारी साधनलाई हटाउन स्वीप अपरेशन चलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो ।

सडक तथा फुटपाथ अतिक्रमण गरी अनाधिकृतरूपमा पार्किङ गर्ने जुनसुकै प्रकारका सवारी साधनलाई कारबाहीको दायरामा ल्याउन उक्त अभियान चलाइएको जनाइएको छ । यसले आम सडक प्रयोगकर्तालाई सडक तथा फुटपाथको निर्वाध प्रयोग गर्न र सवारी आवागमनमा समेत सहजता ल्याउने विश्वास लिइएको छ ।

महाशाखाले अभियानको पहिलो दिन आज ललितपुरबाट ३७ सवारी साधनलाई कारबाही गरेको छ । ट्राफिक प्रहरीले आवागमनमा असर पर्ने गरी पार्किङ नगर्नसमेत सचेत गराएको छ ।

यता बौद्ध क्षेत्रमा गरिएको स्वीप अपरेशनमा १०० सवारी साधनलाई कारबाही गरिएको छ भने आसपासका अन्य सडकमा पार्किङ व्यवस्थापनसमेत गरिएको महाशाखाले जनाएको छ ।

कोरिडोर सडकमा हुने सवारी तथा पार्किङ व्यवस्थापन गर्न ट्राफिक महाशाखाले हालसालै डल्लु र मैतीदेवीमा नयाँ ट्राफिक पोष्टसमेत स्थापना गरिसकेको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.