परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई अनुदान

भक्तपुर- भक्तपुर नगरपालिकाले नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई अनुदान वितरण गरेको छ । नगरपालिकाले आज नगरभित्र परम्परागत शैलीमा घर निर्माण गर्ने नगरवासीलाई मोहडामा प्रयोग भएको काठ, इँटा र झिङ्गटीको अनुदान वितरण गरेको हो ।

नगरपालिकाका अनुसार २६ जनालाई कूल रु ७९ लाख ८३ हजार अनुदान वितरण गरिएको छ । नगरपालिकाको भौतिक पूर्वाधार तथा निर्माण मापदण्ड, २०६०, तेस्रो संशोधनअनुसार भक्तपुर नगरको विश्व सम्पदा क्षेत्र तथा पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर तथा भवन निर्माण गर्न नगरवासीको प्रोत्साहनस्वरुप घर तथा भवन निर्माण गर्ने क्रममा मोहडातर्फ प्रयोग हुने काठ, इँटा र झिङ्गटी खरिदका लागि भक्तपुर नगरपालिकाले दिने अनुदानसम्बन्धी कार्यविधि २०७५ अनुसार आव २०७५/७६ देखि मापदण्ड अनुरुप घर निर्माण गर्ने नगरवासीहरुलाई लागेको खर्चमा ३५ प्रतिशत अनुदान वितरण गर्दै आएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

नगरवासीलाई अनुदान वितरण गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नगरभित्र पराम्परागत शैलीमा घर निर्माण गर्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै आधुनिक शैलीका घर निर्माणले देश परनिर्भरतातर्फ उन्मुख हुँदै गएको बताउनुभयो ।

पुराना घरको संरचनामा प्राविधिक र वैज्ञानिक आधार रहेको उल्लेख गर्दै उहाँले परम्परागत, स्थानीय सामग्री तथा सीपको प्रयोग गरी पुरानै शैली र संरचनामा घर निर्माण गर्नेलाई नगरपालिकाले प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।

“मूर्त र अमूर्त सम्पदाको संरक्षण हामी सबैको जिम्मेवारी हो । पुराना पुस्ताको अनुभव नयाँ पुस्तालाई पुस्तान्तरण गर्दै नगरको कला संस्कृति, सम्पदा संरक्षणलगायत समग्र विकासमा अगाडि बढ्न नगरवासी र नगरपालिकाले हातेमालो गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

बागमती प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर नगरको सौन्दर्य बढाउन जनप्रतिनिधि र जनताको एकता अपरिहार्य रहेको चर्चा गर्दै मौलिकताको पहिचान, परम्परागतका साथसाथै वैज्ञानिकता पनि आवश्यक रहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरपालिकाले भूकम्प अघि र पछि क्षति भएका नगरभित्रका ११८ भन्दा बढी सम्पदा पुनःनिर्माण र संरक्षण गरेको उल्लेख गर्दै नक्सा पास सम्बन्धी व्यवस्था र भूकम्पबाट क्षति भएका निजी आवास पुनःनिर्माणसम्बन्धी प्रगति विवरणबारे जानकारी दिनुभयो ।

दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालयका कार्यालय प्रमुख अरुणा नकर्मीले विश्व सम्पदा क्षेत्रमा परेका भवन पराम्परात हुनुपर्नेमा जोड दिँदै परम्परागत शैलीका घर निर्माणका फाइदाबारे चर्चा गर्नुभयो ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.