ऐतिहासिक धरोहरको संरक्षणले राष्ट्रिय आत्मविश्वास बलियो : राष्ट्रपति
काभ्रे- राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पदाहरु अझ बलियो र स्थायी रुपमा पुनर्निर्माण हु“दा ऐतिहासिक धरोहरहरुको संरक्षण गर्ने राष्ट्रिय आत्मविश्वास बलियो भएको बताउनुभएको छ ।
बुधवार नमोबुद्ध–५, कानपुरस्थित ऐतिहासिक, प्राचिन कालीदेवी मन्दिरको उद्धघाटन गर्दै राष्ट्रपति भण्डारीले स्थानीय तहमा जनप्रतिनिधीद्धारा विकास कार्यहरु सञ्चालन भइ जनताका दैनिक आवस्यकताहरु प्रत्यक्ष संवोधन हुनुको लोकतन्तलाई संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको बताउनुभयो । विनाशकारी भूकम्पबाट क्षति कालीदेवी मन्दिरको पुनर्निर्माणको लागि नगरपालिकाले देखाएको अग्रसरता प्रशंसनीय रहेको पनि उहाँले बताउनुभयो ।
संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएको भन्दै उहाँले प्रत्येक जनप्रतिनिधीले उक्त भावनालाई जनताको सेवामा समर्पित गर्नुपर्ने बताउनुभयो । उहाले नमोबुद्ध नगरपालिकाले वातावरण जोगाउने कार्यलाई विशेष प्राथमिकता दिएको थाहा पाउँदा खुशी लागेको बताउनुभयो ।
नगरप्रमुख टंकप्रसाद शर्माले नमोबुद्ध क्षेत्रलाई विश्व सम्पदा सूचीमा सुचिकृत गर्न प्रकृया अघि बढाइएको जानकारी दिनुभयो ।
वि.सं १८३८ सालमा स्थापना भएको मन्दिर २०७२ सालको भूकम्पमा क्षति मन्दिर पुननिर्माण पुरातत्व विभाग, राष्ट्रिय पुननिर्माण प्राधिकरण, शहरी विकास तथा भवन निर्माण विभाग र नमोबुद्ध नगरपालिकाको सहकार्यमा सम्पन्न गरिएको हो । मन्दिर पुननिर्माणका लागि पुरातत्व विभागबाट १ करोड ४० लाख, पुननिर्माण प्राधिकरण र शहरी विकास तथा भवन निर्माण विभागबाट संयुक्तरुपमा ६० लाख र नमोबुद्ध नगरपालिकाबाट ४ लाख रुपैयाँ खर्च भएको छ ।
कार्यक्रममा नगरपालिकाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिक अभिनन्दन समेत गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्