सैनिक कल्याणकारी कोषको सम्पति रु ६४ अर्ब

सुर्खेत- प्रधानसेनापति प्रभुराम शर्माले सैनिक कल्याणकारी कोषको सम्पत्ति करिब रु ६४ अर्ब पुगेको जानकारी दिनुभएको छ । विसं २०३२ मा रु एक करोड २४ लाख एक हजारबाट स्थापना भएको सैनिक कल्याणकारी कोषको रकम माघ मसान्तसम्म आइपुग्दा रु ६३ अर्ब ९७ करोड २६ लाख ६० हजार पुगेको बताउनुभयो ।

राजदल गणमा आयोजित ‘भूतपूर्व सैनिक सम्मेलन’ उद्घाटन गर्दै प्रधानसेनापति शर्माले भूपूसैनिक तथा बहालवालाको जीवन स्तर उकास्न इन्भेष्टमेन्ट बैंकसँगको सहकार्यमा अघि बढाइएको सहुलियत कर्जा कार्यक्रमबाट हालसम्म ३१ हजार ५०० भन्दा बढी हिताधिकारीसमेत लाभान्वित भएको उल्लेख गर्नुभयो ।

कल्याणकारी बोर्डको समन्वयमा हिताधिकारीका लागि बैंकले लघुवित्त कार्यक्रममा हालसम्म करिब रु छ अर्ब ७५ करोड कर्जा प्रवाह गरिसकेको छ । कल्याणकारी कोषमार्फत आफ्ना हिताधिकारीका लागि शिक्षा, स्वास्थ्य, स्वरोजगार, सीप, सहुलियतजस्ता कार्यक्रममार्फत जीवनस्तर उकास्ने कार्यक्रमलाई सेनाले जोड दिँदै आएको छ ।

प्रधानसेनापति शर्माले लामो सैनिक जीवनबाट सेवा निवृत्त भएका भूपूलाई समाजलाई दिएको योगदान खेर नजाने भएकाले सङ्गठनको ओज र गरिमा अभिवृद्धि गर्ने ढङ्गबाट समाज सेवामा लागेर उदाहरण प्रस्तुत गर्न सुझाव दिनुभयो ।

सम्मेलनमा ज्येष्ठ भूपूसैनक तथा एकल महिलालाई सम्मान, अशक्त तथा फरक क्षमता भएकालाई ह्विल चियर, लघुउद्यम व्यवसायीलाई प्रशंसापत्र र पुरस्कार वितरण तथा चारभन्दा बढी सन्तानलाई सेनामा पठाउने मातापितालाई सम्मान गरियो ।

कल्याणकारी कोषको दिगोपन, मितव्ययी र पारदर्शी प्रयोग गर्न सङ्गठन कटिबद्ध रहेको जनाउँदै सहभागी अन्य वक्ताले सेवासुविधालाई विस्तारित, विकेन्द्रित एवं परिणाममुखी तुल्याउने लक्ष्य बनाइएको जानकारी दिनुभयो ।

सम्मेलनलाई भूपूसैनिकले आफ्ना सहपाठीसँगको भेटघाट र औषधिमूलोका हिसाबले अभूतपूर्व जमघटका रूपमा लिने गरेका छन् । यसअघि दिपायल र धनगढीमा भूपूसैनिक सम्मेलन भइसकेको छ ।

मुलुकको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनामा जीवनको महत्वपूर्ण क्षण बिताएका भूपू र एकल महिलाको सङ्ख्या करिब ८५ हजार छ । नेपाली सेनाको कल्याणकारी बोर्डको संयोजनमा हुँदै आएको सम्मेलनका यस वर्षको नारा ‘भूतपूर्व सैनिक सम्मेलनको अभिलाषा ः सेनाप्रतिको समर्पण र भरोसा’ भन्ने रहेको छ । सम्मेलनका अवसरमा हिताधिकारीलाई लक्षित गरी आयोजना गरिएको बृहद् स्वास्थ्यबाट ७०० भन्दा बढी सेवाग्राही लाभान्वित भएको जानकारी दिइयो ।

सैनिक कल्याणकारी बोर्डका कार्यकारी अधिकृत गौरव तण्डुलले गौरवमय इतिहास र विशिष्ट परम्परा बोकेको नेपाली सेना आफँैमा एउटा मर्यादित, अनुशासित, सशक्त र उत्कृष्ट संस्था भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कल्याणकारी कोषको अभिवृद्धि गर्ने, नयाँ चिन्तनसहित गति ल्याउने, लगानीका सम्भावित क्षेत्रको पहिचान गर्ने, कार्यक्रमलाई विकेन्द्रीकरण गरी सेवालाई घरदैलोसम्म पु¥याउन हरहमेसा प्रयत्न भइरहेको छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.