नियमित कार्यक्रम अन्तर्गत टाइफाइड खोप अभियान सुरु
काठमाडौं– नेपाल सरकारले आजदेखि गाभी खोप सञ्जाल, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र अन्य साझेदारहरूसँगको सहकार्यमा राष्ट्रिय नियमित खोप कार्यक्रम अन्तर्गत टाइफाइड खोपको सुरुवात गरेको छ ।
बुधबारदेखि आगामी २०७० साल वैशाख १८ सम्म आयोजना हुने यस राष्ट्रिय टाइफाइड खोप अभियानले १५ महिनादेखि १५ वर्षका बालबालिकालाई लक्षित गर्दै टाइफाइडबाट सुरक्षा हासिल गर्ने उद्देश्य लिएको छ । साथसाथै यस अभियानले बृद्धि भइरहेको एन्टिमाइक्रोबियल प्रतिरोधलाई पनि कम गर्न मद्दत गर्नेछ।
देशभरिका ग्रामीण र शहरी क्षेत्रहरूमा ५० हजार भन्दा बढि विद्यालय केन्द्रित खोप केन्द्रहरूमा यो खोप लगाइनेछ । अभियान लगत्तै टाइफाइड खोप नियमित खोप कार्यक्रममा सामेल गरिनेछ जसले गर्दा १५ महिनाका बालबालिकाले नियमित यो खोप प्राप्त गर्नेछन्।
टाइफाइडबाट अधिक प्रभावित मुलुकहरुको सूचीमा नेपालको नाम पनि अग्रपंक्तिमा आउँछ । टाइफाइड खोपको देशब्यापी सुरुवातले गर्दा १५ वर्षमुनिका बालबालिकाले निःशुल्क रुपमा यो खोप प्राप्त गर्नेछन् ।
यस टाइफाइड खोप अभियानले १५ देखि २३ महिनाका बालबालिकाले अन्य खोप पनि पाए नपाएको निर्क्यौल गर्नेछ र सबै बालबालिका सबै प्रकारको खोप पाई सुरक्षित रहुन् भनि सुनिश्चित गर्न पनि मद्दत पु¥याउनेछ ।
शिक्षा मन्त्रालयसँगको समन्वयमा विद्यालय नजाने बालबालिकाको पहिचान गरिनेछ भने स्थानीय प्रशासन र सामुदायिक स्वास्थ्यकर्मीहरूको सहयोगमा उनीहरूको हेरचाह गर्ने व्यक्तिहरूलाई यस खोपको महत्वका बारेमा सचेत गराई खोप केन्द्रहरूको बारेमा जानकारी समेत दिइनेछ । टाइफाइड रोग बाट बच्नका लागि सरसफाइको महत्वको बारेमा पनि यस अभियान मार्फत सचेतनाका कार्यक्रमहरु सञ्चानल गरिनेछ ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत टाइफाइड खोपका निम्ति गाभीको सहयोग प्राप्त गर्न सफल नेपाल चौथो मुलुक हो । यस अघि पाकिस्तान, लाइबेरिया र जिम्बावेले गाभी र यसका साझेदार संस्थाहरूको सहयोग प्राप्त गरिसकेका छन् ।
ग्लोबल बर्डन अफ डिसिजेज अनालिसिस २०१९ का अनुसार नेपालमा कम्तिमा ८२ हजार ४ सय ४९ टाइफाइडका बिरामीहरु रहेको अनुमान गरेको छ, जसमध्ये ६० प्रतिशत १५ वर्ष भन्दा कम उमेर समूहका बालबालिका रहेका छन् । सोही अध्ययनमा ९१९ जनाको मृत्यु भएको आँकलन गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्