नेपाल टेलिभिजनका ४ पत्रकारलाई प्रबल जनसेवाश्री
काठमाडौं– नेपाल टेलिभिजनका चार पत्रकार/सञ्चारकर्मीले प्रबल जनसेवाश्री पदक पाउनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आज भएको कार्यक्रममा नेपाल टेलिभिजनबाट नीता सापकोटा, गोविन्द धिताल, शालिक सुवेदी र अनिता विन्दुलाई प्रबल जनसेवाश्री पदकबाट विभूषित गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई सम्मानस्वरूप विभिन्न मानपदवी एवम् विभूषण प्रदान गर्नुभएको छ ।
सरकारले राष्ट्रका विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तिलाई सम्मानस्वरूप संविधान दिवस–२०७८ (राष्ट्रिय दिवस) का दिन उक्त मानपदवी एवं विभूषणको घोषणा गरिएका थिए ।
समारोहमा पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईलाई मरणोपरान्त नेपाल रत्न, मन्त्रिपरिषद् पूर्वअध्यक्ष सुवर्णशमशेर राणालाई मरणोपरान्त राष्ट्र गौरव प्रदान गरिएको छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव प्रदान गरिएको छ । तुल्सीलाल अमात्य, मङ्गलादेवी सिंह, दुर्गानन्द झा, नारायणगोपाल गुरुवाचार्यलाई मरणोपरान्त तथा चोलेन्द्रशमशेर जबरा र मोहनचन्द्र अधिकारीलाई महाउज्ज्वल राष्ट्रदीप विभूषित गरिएको छ ।
सुप्रसिद्ध प्रबल जनसेवाश्री राजनीतिज्ञ प्रदीप नेपाल, मरणोपरान्त पोष्टबहादुर बोगटी र मार्शलजुलुम शाक्यलाई र उज्ज्वल कीर्तिमय राष्ट्रदीप विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रदान गरिएको छ । प्रसिद्ध प्रबल जनसेवाश्री ३९, सुकीर्तिमय राष्ट्रदीप २८, सुप्रबल जनसेवाश्री १५८, कीर्तिमय राष्ट्रदीप ७, प्रबल जनसेवाश्री ३१३ र जनसेवाश्री १८५ जनालाई प्रदान गरिएको छ ।
प्रतिक्रिया राख्नुहोस्