पत्रकारिताकै बृहत रुप हो ‘क्लोज-अप’: पराजुली

झण्डै डेढ दशकदेखि पत्रकारिता पेशामा रहिरहेका जीवन पराजुलीले हालै ‘क्लोज-अप’ नामक गैर-आख्यान पुस्तक सार्वजनिक गरेका छन् । मनोरञ्जन क्षेत्रसँग नजिक रहेर पत्रकारिता गर्ने पराजुलीले नेपाली चलचित्रका विभिन्न आयाम तथा पात्रहरु समावेश गरि उक्त पुस्तक तयार गरेका हुन् । छ वटा खण्डमा विभाजित ३६३ पृष्ठ लामो यो पुस्तकमा आधारित रहि लेखक पराजुलीसँग नेपालटीभीअनलाइनले गरेको कुराकानीः

‘क्लोज-अप’ कस्तो पुस्तक हो, किन पढ्ने ?
‘क्लोज-अप’ पुस्तक मैले लामो समयदेखि गरिरहेको पत्रकारिताकै बृहत रुप हो । अलग-अलग व्यक्तित्व र उनीहरुका आयामहरुबारे स्टोरी गर्दा आधा अपुरो हुने गर्दछ । एक-एक व्यक्ति खोज्नु पनि चुनौतीपूर्ण नै हुन्छ । नेपाली चलचित्रका विभिन्न आयामहरु तथा पात्रहरुका बारेमा कुनै दस्तावेज नै नभएको महसुस गर्दै यो पुस्तक तयार गरेको हुँ । यो पुस्तकमा ६१ जना नेपाली चलचित्रका विभिन्न कालखण्डका पात्रहरुलाई मैले उनीहरुको अनुभवमा आधारित रहेर उनीहरुकै दृष्टिकोणबाट नेपाली चलचित्र हिजो के थियो र आज ५० वर्षको इतिहास पुग्दासम्म के-के भयो भन्ने सन्दर्भ उठाएको छु । समष्टिगत, व्याख्यात्मक तथा विश्लेषणात्मक रुपमा ति प्रसंगहरु यो पुस्तकमा छन् । फिल्ममा रुची राख्ने वा इतिहास थाहा पाउन चाहने पाठकले एक-एक व्यक्तिको बारेमा खोजी गर्नुपर्ने बाध्यता नपरोस् भन्ने ध्येयका साथ केहि प्रतिनिधि पात्रहरुमाथी लेखन सुरुवात गरेको छु । सयौं हजारौं पात्रहरु छन्, जसलाई यसैगरी लेखिनुपर्छ ।

यो पुस्तकमा चलचित्रप्रति राजा शासनको रुचिलाई खोतल्नुभएको रहेछ, कस्ता प्रसंग छन् ?
हिजो नेपाली चलचित्र कहाँ थियो, बीचमा कहाँ आयो र अहिले कहाँ पुग्यो भन्ने सन्दर्भमा यो पुस्तकले नेपाली चलचित्रको वि.सं. २०२६ सालदेखि अहिलेसम्मको कालखण्ड बोल्छ । २०२२ सालमा आमा चलचित्र बनेको थियो । त्यसपछि २०२६ सालमा दरबारको रुचिमा शाही नेपाल चलचित्र संस्थानको सुरुवात भएको थियो । जसको प्रारुप तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहदेवबाट तयार भएको थियो । महेन्द्रको निधनपछि वीरेन्द्र वीर विक्रम शाहदेव राजा भए । त्यसपछि नेपाली चलचित्र संस्थागत रुपमा अगाडि बढेको थियो । जतिखेर यादव खरेल सहितका व्यक्तित्वहरुले यसको नेतृत्व गरेका थिए, यो पुस्तकमा सोहि समयदेखि अहिलेसम्म चलचित्रको यात्रा समेटिएको छ । अहिले स्वर्गीय भइसक्नुभएका चेतन कार्की, जो कर्मचारीको रुपमा यादव खरेलको नेतृत्वदेखि शाही नेपाली चलचित्र संस्थानमा कर्मचारीको रुपमा दशकौं काम गर्नुभयो, उहाँसँग पनि यहि बिषयमा कुरा गरेको छु ।

संस्थानको विषयमा नसुनिएका, नदेखिएका या थाहा नपाइएका थुप्रै प्रसंगहरु जस्तैः शाही नेपाली चलचित्र संस्थान कुन-कुन उद्देश्यले सुरु भयो ? दरबारले किन चलचित्र बनाउँथ्यो ? त्यतिबेला दरबारले चलचित्रमाथि कसरी अंकुश लगाउँथ्यो ? चलचित्र मार्फत हुने अभिव्यक्ति स्वतन्त्रतामाथि के-कस्तो बन्देज थियो र आज गणतन्त्रमा पनि उहि प्रकारको बन्देज कसरी लगाइन्छ ? विदेशी चलचित्र र नेपालीमाथि कुन प्रकारको विभेद थियो ? इत्यादि प्रसंगहरु खोतल्ने प्रयास गरेको छु ।

पुस्तकको एक च्याप्टरमा ‘साँघुरो छ आधा आकाश’ भनिनुको तात्पर्य के हो ?
मैले पत्रकारिता गरिरहँदा सधैं महिलाहरुको प्रसंगमा अलमल हुने गर्छु । सयौं पुरुषहरु सफल बनिरहेको यो चलचित्र क्षेत्रमा महिलाहरु किन थोरै मात्र सफल बनेका होलान् ? किन उनिहरुको उपस्थिति यति थोरै होला ? उनीहरुले के कस्ता समस्या झेल्दै काम गरिरहेका होलान् ? कलाकारितामा उल्लेख्य महिलाहरु भएतापनि चलचित्रको क्याप्टेनसिप लिन नसक्नुका कारण के होलान् ? यि र यस्तै प्रश्नहरुले सँधै झकझकाइरहन्थ्यो । कोहि एक महिला निर्देशकसँग यसअघि कुरा नभएको होइन, तर नेपाली चलचित्रमा जति निर्देशक छन् ती सबैको कथा-व्यथा एकसाथ सुनिएको थिएन । यति लामो कालखण्ड बोकेको नेपाली चलचित्र उद्योगमा जम्मा १४ जना मात्र महिला निर्देशक हुनु, त्यसमा पनि केहिले मात्र निरन्तरता दिनुको कारण खोतल्दै जाँदा मैले पाएको निष्कर्षको आधारमा हामीले आधा आकाश मानिएका महिलाहरुको अवस्थालाई ‘साँघुरो छ आधा आकाश’ भनेको हुँ ।

यो पुस्तक पढिरहँदा यस्तो लाग्छ, ती पात्रहरु आफ्नै अगाडि बसेर बोलिरहेका छन् । हरेक पात्रले आफ्नो अनुभव आँफैले बोलेका छन् । स्वयं व्यक्तिले बोलेका तथ्यहरु नै सबैभन्दा आधिकारिक हुन् भन्ने मलाई लाग्छ, किनभने आफ्नो अनुभव र कामबारेको जानकारी स्वयं व्यक्तिलाई जति अरु कसैलाई थाहा हुँदैन ।

अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरको सम्बन्धको विषय अलि चर्चामा छ नि !
यस प्रसंगमा पुस्तकमा ‘राजेश हमालः युगदेखि युगसम्म’ नामक एक च्याप्टर नै राखेको छु । मुलतः राजेश हमालको नेपाली चलचित्रमा आगमन, संघर्ष, बाध्यता, सफलता, उहासँग जोडिएका प्रमूख पात्र र व्यक्तिगत जीवनलाई जोडेर यो च्याप्टर तयार छ । एउटा कालखण्डमा हिरो भनेकै राजेश हमाल भन्ने बुझिन्थ्यो । यसको मतलब अरु थिएनन् भन्न खोजेको होइन, तर जनमानसमा के थियो भने राजेश हमालले आफ्नै कथा बोकेर हिँड्छन्, तल्लो वर्गका जनताको अधिकारको लागि उनी लड्छन् । यसकारण हमाल सर्वसाधारणका आदर्श थिए । त्यो समयमा उनले एकैदिनमा चारवटासम्म चलचित्र छायांकनको सेटमा पुग्न भ्याउँथे । हमालसँग जोडिएका तमाम पात्रहरुमध्ये अभिनेत्री करिश्मा मानन्धर प्रमुख हुन् । मानन्धरले सबैभन्दा लामो सहकार्य नै राजेश हमालसँग गरेकी छन् । उनी कसरी आइन्, पहिलो फिल्म राजेश हमालसँगै अभिनय गर्ने भनि मुहुर्त भएर पनि किन छायांकन भएन, हमाल र मानन्धरले पचास वटा भन्दा बढि चलचित्रमा सँगै अभिनय गर्दाका विभिन्न प्रसंगहरु, मानन्धर अमेरिका किन पलायन हुनुपरेको थियो, इत्यादि प्रसंगहरु यसमा पाइन्छ । त्यस्तै, २५ वटा चलचित्रमा हमाललाई निर्देशन गरेका दयाराम दाहाल, ‘शंकर’ नामक चलचित्र पात्र नै स्थापित गरिदिने निर्देशक नारायण पुरी लगायतका अनुभव र प्रसंगहरु साथै उमेरले पचास कटेपछिको विवाहको प्रसंग पनि यो च्याप्टरमा पाईन्छन् ।

नेपाली चलचित्र इतिहाससँग प्रमुख रुपमा जोडिने भारतीय नेपालीभाषी समुदायका चलचित्रकर्मीहरु तथा इतिहास बदल्न सफल अन्य चलचित्रकर्मीको स्थान बलियोसँग राख्नुभएको छ । छोटकरीमा प्रष्ट्याइदिनुस् न !
यस पुस्तकको अर्को एउटा महत्वपूर्ण च्याप्टरको रुपमा भारतबाट नेपाल आएर नेपाली चलचित्रमा योगदान गर्ने चलचित्रकर्मीहरुको छ । खासमा भन्ने हो भने नेपाली चलचित्रको इतिहासको सुरुवाती चरण नै भारतीय नेपालीभाषी चलचित्रकर्मीबाट भएको थियो । प्रताप सुब्बा, उगेन छोपेल, तुलसी घिमिरे जस्ता भेट्रान निर्देशकहरु, रञ्जित गजमेर जस्ता नेपाली चलचित्रसँगसँगै बलिउडका सुपरस्टार संगीतकार, निरुता सिंह, तृप्ती नाडकर, उत्तम प्रधान जस्ता कलाकारहरु जसले नेपाली चलचित्रको सिंगो इतिहासलाई नै प्रतिनिधित्व गर्छन्, उनीहरुका नेपाली चलचित्रप्रतिको योगदान, संघर्ष, नागरिकताको कारण रोकिएका राष्ट्रिय पुरस्कार, तितामिठा पलहरु लगायत प्रसंगहरु पठनिय रुपमा यस पुस्तकमा पाइन्छ । त्यस्तै, सन्चारकर्ममा रहेर चलचित्र निर्देशन गर्ने निर्देशकहरु जसले नेपाली चलचित्रको इतिहास नै बदल्न सफल भएका हुन् उनिहरुलाई समेटेको छु । नेपालमै पहिलोपटक डिजिटल चलचित्र निर्देशन गर्ने भूषण दाहाल, अन्तराष्ट्रिय स्तरमा पहिलोपटक नेपाली चलचित्रलाई पुर्‍याउने निर्देशक नवीन सुब्बा, बीबीसी नेपाली सेवाको जागिर नै छोडेर चलचित्र निर्देशनमा आई पहिलो नेपाली बायोपिक चलचित्र निर्देशन गर्ने यादव खरेल, समिक्षा मार्फत चलचित्रको धार नै परिवर्तन गर्न सफल दीपेन्द्र लामा र मनोज पण्डित लगायतका तमाम निर्देशकहरुको योगदान र भोगाईलाई बलियोसँग राखेको छु । साथै, निर्देशक शम्भू प्रधान, संगीतकार मुरलीधर, बलिउड तथा नेपाली गायक उदित नारायण झाका नेपाली नागरिकता प्रसंग र विवादहरु समेत पुस्तकमा समावेश छन् ।

तपाईंको पुस्तक तथ्यपरक कसरी मान्ने ?
यो पुस्तकको मुख्य विशेषता नै यही हो । किनभने पहिला त जो सम्बन्धित पात्र हुनुहुन्छ, उहाँहरुसँग प्रत्यक्ष कुराकानी गरेर, उहाँहरुसँग भएका तथ्यपरक कुराहरु नै पुस्तकमा समावेश छन् । त्यति हुँदाहुँदै पनि केहि तथ्यगत त्रुटिहरु भने हुनसक्छन्, जुन अर्को संस्करणमा सच्चिने ठाउँ छ नै । यो पुस्तक पढिरहँदा यस्तो लाग्छ, ती पात्रहरु आफ्नै अगाडि बसेर बोलिरहेका छन् । हरेक पात्रले आफ्नो अनुभव आँफैले बोलेका छन् । स्वयं व्यक्तिले बोलेका तथ्यहरु नै सबैभन्दा आधिकारिक हुन् भन्ने मलाई लाग्छ, किनभने आफ्नो अनुभव र कामबारेको जानकारी स्वयं व्यक्तिलाई जति अरु कसैलाई थाहा हुँदैन । यो पुस्तकमा समावेश ६१ जना मध्ये ६० जनाले यो पुस्तक पढ्नु भएको छ । जसका आधारमा अहिलेसम्म तथ्यगत रुपमा कुनै गुनासो आएको छैन ।

यो पुस्तकलाई सरकार वा राज्यले कसरी हेरोस् भन्ने लाग्छ ?
मैले पुस्तकका रुपमा नेपाली चलचित्रका आयामहरु तथा पात्रहरुका योगदानलाई अगाडि ल्याउने कोसिस गरेको छु, यस प्रकारका प्रयासहरु राज्यस्तरबाट हुनुपर्ने हो । बिडम्बना नगन्य रुपमा मात्र राज्यले चासो देखाएको छ । यसअघि नै स्वर्गीय भइसकेका तमाम चलचित्रकर्मीहरुका बारेमा लेखिनुपर्थ्यो, त्यसो भएको पाईएको छैन । मैले एउटा प्रयास सुरु गरेको हुँ । राज्यले यो प्रयासलाई सकारात्मक रुपमा नै लिएको छ । यद्यपी नेपाली चलचित्रका विविध आयामहरु, पात्रहरु तथा इतिहासलाई विद्यार्थी लेभलबाट नै पठाउनुपर्ने जरुरी छ । आम मानिसमा चलचित्रको चेत पुर्‍याउनु जरुरी छ । चलचित्रले सँस्कृति, कला, भाषालाई चिनाउने मात्र होइन राज्यको अर्थतन्त्रको ठूलो हिस्सालाई समेट्छ । विदेशीहरु माझ पनि नेपाली कला, सँस्कृति चिनाउन चलचित्रको इतिहास महत्वपूर्ण रहन्छ । ‘क्लोज-अप’ र यस्तै अन्य पुस्तक र सिर्जनाहरुलाई राज्यले शैक्षिक सामग्रीको रुपमा हेर्न सक्यो, राख्न सक्यो भने त्यसले फाइदा पुग्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.