प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पनासमेत गर्न सकिँदैन : प्रवक्ता कार्की
काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रताबिना लोकतन्त्रको परिकल्पनासमेत गर्न नसकिने बताउनुभएके छ ।
राष्ट्रिय पत्रकारिता दिवस–२०७९ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यहाँ आज आयोजना गरेको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान’ कार्यक्रममा पुरस्कार प्रदान गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका उहाँले भन्नुभयो, “संविधानले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताको निमित्त, जुन परिकल्पना गरेको छ, त्यसलाई वर्तमान सरकारले रक्षा र प्रोत्साही गर्दै लैजाने छ ।”
पत्रकारिता क्षेत्रले मुलुकको परिवर्तन र जनताको चाहनाअनुसार मुलुकलाई सुशासन र कानुनी शासनका माध्यमद्वारा समृद्धिको दिशामा अग्रसर गर्नका निमित्त महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको मन्त्री कार्कीको भनाइ छ ।
उहाँले भन्नुभयो, “स्वतन्त्र प्रेस र सरकार साथसाथै हिँड्न सकेन भने जनताको लोकतन्त्रप्रतिको चाहना र समृद्धिको चाहना पूरा हुन सक्दैन, त्यसैले निर्भिकताका साथ आफ्नो स्वतन्त्रतालाई मध्ये नजर गर्दै समाजलाई सुसूचित गर्नहोस्, सरकारलाई पहरेदारी गर्नुहोस्, सरकारलाई कानुनी शासन र सुशासनको बाटोमा हिँड्नका निमित्त तपाईहरुले आग्रह मात्रै होइन, बाध्य गराउने परिस्थितिको पनि सिर्जना गर्नुहोस्, धत्यसको वर्तमान सरकारले स्वागत गर्छ ।” सरकारले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई रक्षा मात्रै नभई सम्वद्र्धनसमेत गर्ने उहाँको भनाइ छ ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा पुरस्कृत व्यक्तित्व तारानाथ दाहालले संविधानको मर्मअनुरुप सम्बन्धित क्षेत्रको सुझावका आधारमा सञ्चारसम्बन्धी एकीकृत छाता ऐन जतिसक्दो चाँडो ल्याउन सरकारसँग आग्रह गर्नुभयो । महासङ्घका अध्यक्ष विपुल पोखरेलले राज्यले सञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि नियमनसँगै अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले ‘लोकतन्त्रको आधारशीला, व्यावसायिक र जिम्मेवार पत्रकारिता’ भन्ने मूलनारासहित आज विभिन्न कार्यक्रम गरी सातौँ राष्ट्रिय पत्रकारिता दिवस मनाइएको जानकारी दिनुभयो ।
दिवसको अवसरमा ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान
सरकारले ‘राष्ट्रिय पत्रकारिता दिवस–२०७९’ का अवसरमा वरिष्ठ पत्रकार किशोर नेपाल र पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाललाई ‘वरिष्ठ पत्रकार सम्मान–२०७८’ बाट सम्मान गर्दै पुरस्कार प्रदान गरेको छ । विसं २०७६ र २०७७ को सोही पुरस्कार क्रमशः पत्रकार स्व सुकदेव नेपाल (मरणोपरान्त), हर्ष सुब्बा, रघु मैनाली र शार्दूल भट्टराईलाई प्रदान गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले रु दुई लाख राशिसहितको सो पुरस्कार आज प्रदान गर्नुभयो ।
त्यसैगरी ‘राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७८’ पत्रकार डिआर पन्त, इकवाल अहमद, ठाकुरप्रसाद बेल्वासे, बालकुमार नेपाल, गङ्गा बराल र सम्झना वनलाई प्रदान गरिएको छ । विसं २०७६ र २०७७ को सोही पुरस्कार पत्रकार इन्द्रमान बुढा, मात्रिका पौडेल, सङ्गीता खड्का, शेषराज दाहाल, हेमन्तबहादुर विक, शीतल शाह, दिलीपकुमार थापामगर, दिपेश न्यौपाने, दुर्गाप्रसाद शर्मा, सुरोजङ्ग पाण्डे, नितु पण्डित र पुनम पौडेललाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु एक लाख रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्