मलाई पक्राउ गरिएको होइन : मुस्लिम आयोग अध्यक्ष अन्सारी

काठमाडौं– मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आफूलाई प्रहरीले पक्राउ नगरेको स्पष्ट पार्नुभएको छ ।

जनकपुरको होटल सिता शरणबाट पक्राउ गरिएको भनिएका अन्सारीले आफू काठमाडौंमा आइसकेको बताउनुभयो । ‘मेरो साढे १२ बजेको फ्लाइट थियो, व्यक्तिगत दुश्मनी देखाउँदै एमालेका केही कार्यकर्ता होहल्ला गर्दै होटलमा आएपछि प्रहरीले मलाई एयरपोर्टसम्म ल्याएको हो,’ उहाँले भन्नुभयो ।

अन्सारीले दिउँसो ३ बजे हिमालयन होटल कुपन्डोलमा पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ ।

मिडियाहरुमा पैसा बाँडेको, प्रहरीले पक्राउ गरेको जस्ता समाचार आएकोमा आफू दुःखी भएको अन्सारीले बताउनुभयो ।

आफूलाई संवैधानिक पदको मर्यादा राम्रोसँग थाहा भएको बताउँदै उहाँले राजनीतिक प्रतिशोध साँधिएकोमा दुःख व्यक्त गर्नुभयो ।

एमाले केन्द्रीय सदस्य सञ्जीवकुमार झाले पनि एमालेकै एउटा समूहले अन्सारीमाथि प्रतिशोधपूर्ण तवरले चरित्र हत्या गरेको बताउनुभयो ।

अन्सारीले आफू एमालेको पूर्वकेन्द्रीय सदस्य रहेकाले सहयोग गर्ने भए एमालेलाई नै गर्ने जिकिर गर्नुभएको छ ।

आयोग अध्यक्ष हुनुअघि अन्सारी एमाले केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.