नेपाल र भारतले संयुक्तरूपमा बौद्ध परिपथ विकास गर्ने प्रधानमन्त्रीको घोषणा

 

लुम्बिनी- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै सांस्कृतिक एर्व पर्यटनका क्षेत्रमा पारस्परिक सहयोग अभिवृद्धि गर्न बौद्ध परिपथ विकास गरिने घोषणा गर्नुभएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा आज यहाँ आयोजित २५६६औँ बुद्धजयन्तीको विशेष समारोहमा उहाँले भगवान् बुद्धको जीवनसँग सम्बन्धित महत्वपूर्ण स्थानहरूलाई एकापसमा जोड्ने बौद्ध परिपथ विकास गर्न नेपाल र भारत प्रतिबद्ध रहेका बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले नेपालको लुम्बिनीलाई भारतको बौद्धगया, सारनाथ, कुसिनगर एकापसमा जोड्न त्यस्तो परिपथले नेपाल र भारतबीच सांस्कृतिक पर्यटनको प्रवद्र्धनका क्षेत्रमा सकारात्मक योगदान पु¥याउने बताउनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, “विश्वभरका बौद्ध धर्मावलम्बीहरूलाई नेपाल र भारतमा रहेको भगवान् बुद्धको जीवनसँग जोडिएका महत्वपूर्ण स्थानहरूको भ्रमण उत्प्रेरित गर्नेछ ।” हालै निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएसँगै लुम्बिनीमा भारत एवं सम्पूर्ण विश्वबाट अझ ठूलो सङ्ख्यामा पर्यटक तथा तीर्थयात्रीलाई स्वागत गर्न नेपाल उत्सुक रहेको बताउनुभयो ।

नेपाल र भारत समाज सांस्कृतिक एवं आध्यात्मिक मूल्य मान्यताले जोडिएका बताउँदै उहाँले केही समयअघि सम्पन्न वाराणसीको आफ्नो भ्रमण स्मरण गर्दै काशीविश्वनाथ बाबाको पूजाअर्चना गर्ने अवसरमा प्रधानमन्त्री मोदीले जुटाइदिनुभएकामा उहाँप्रति र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।

भारत नेपालको बहुआयामिक सम्बन्ध भएको घनिष्ट छिमेकी मित्र हो । कोभिड–१९ महामारी जनजीवन कष्टकर बनाएको अत्यन्त कठिन समयमा र अन्य विषम परिस्थितिमा भारत सरकारले उदारता र आत्मीयताका साथ गरेको सहयोगको सराहना गर्दै प्रधानमन्त्री देउवाले नेपालको आर्थिक विकासमा निरन्तर सहयोगका लागि भारतप्रति आभार प्रकट गर्नुभयो ।

नेपालको पूर्वाधार निर्माण, सम्पर्क सञ्जाल विस्तार, जलविद्युत् कृषि तथा मानव संसाधनको विकासका साथै भूकम्पपछिको नवनिर्माण एवं सांस्कृतिक सम्पदाका पुनः स्थापना र पुनः निर्माणका लागि भारत सरकारले गरेको सहयोगका निम्ति पनि आभार प्रकट गर्नुभयो ।

यसै वर्ष नेपाल र भारतको कूटनीतिक सम्बन्धको ७५औँ वार्षिकोत्सव मनाइरहेका बेला आपसी समझदारी तथा पारस्परिक सम्मानका आधारमा दुई मुलुकबीचको सम्बन्धलाई अझ सदृढ बनाउँदै थप उचाइमा पु¥याउन चाहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

भगवान् बुद्धको जन्मभूमि लुम्बिनी बुद्धका ज्ञानरुपी, अनन्त ज्योतिलाई सदैव प्रज्वलित राख्न प्रतिबद्ध रहेको बताउँदै उहाँले लुम्बिनीलाई समग्र विश्वकै एक महत्वपूर्ण सम्पदाका रुपमा एवं विश्व शान्तिका लागि प्रेरक केन्द्रका रुपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लुम्बिनीलाई बुद्ध धर्म तथा दर्शनको विश्वव्यापी केन्द्रका रुपमा विकास गर्ने हाम्रो प्रतिबद्धता हो । यस पवित्र उद्देश्य हासिल गर्न सबैको सहकार्य र ऐक्यबद्धताको कदर गर्दछौँ ।”

वर्तमान विश्वका विभिन्न ठाउँमा मानव जातिले हिंसा, वैमनस्य र युद्धको सामना गरिरहनु परेको, आतङ्कवाद, शस्त्रअस्त्रको होडबाजी र द्वन्द्वका कारण विश्वव्यापी शान्तितर्फको यात्रा दिनप्रतिदिन कठिन र चुनौतीपूर्ण बन्दै गएको परिप्रेक्ष्यमा भगवान् बुद्धका उपदेशहरू अझ सान्दर्भिक र मननीय छ भन्नुभयो ।

पारस्परिक सम्मान, करुणा, अहिंसा र सद्भावयुक्त, शान्तिपूर्ण विश्वका लागि भगवान् बुद्धका सन्देशहरू अत्यन्त उपयोगी रहेको पनि प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्री धर्मपत्ती डा आरजु राणा देउवा, मन्त्री परिषद्का सदस्यहरू, लुम्बिनी प्रदेशका मुख्यमन्त्री, प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिका सदस्य, लुम्बिनी विकास कोषका उपाध्यक्ष र पदाधिकारीसहित, बौद्धमार्गी र सर्वसाधारणको ठूलो सङ्ख्यामा उपस्थिति थियो ।

भारत र नेपालबीचको सम्बन्ध हिमालझैँ अटल छ : प्रम मोदी

सोही समारोहलाई सम्बोधन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीचको सम्बन्ध हिमालझैँ अटल रहेको बताउँदै दुवै देशले विज्ञान, प्रविधि र पूर्वाधार विकासका खातिर काँधमा काँध मिलाएर काम गर्ने प्रशस्त अवसर रहेका उल्लेख गर्नुभयो ।

भारत र नेपालबीचको समान रीतिरिवाज, परम्परा, संस्कृति र सामाजिक संरचनाले दुवै देशका जनतालाई एकापसमा जोडेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले नेपलासँगको सम्बन्धलाई अझ सुदृढ तुल्याउन आफू कृतसङ्कल्प रहेको बताउनुभयो ।

बुद्ध उपदेशका अंशलाई आफ्नो मन्तव्यमा बेलाबेलामा समावेश गर्नुभएका प्रधानमन्त्रीप्रति प्रशंसा व्यक्त गर्दै दर्शकदीर्घाबाट तालीको गद्गदाहतले सभाभवन गुञ्जायमान भएको थियो । बुद्धका पवित्र पाइला परेका तथा उहाँको जीवन र शिक्षाका स्थलहरुको बाटो नै बौद्ध परिपथ हो । विश्व सम्पदास्थलका रुपमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले विश्व सम्पदामा राखेका भारतका गया, नालन्दा, वैशाली, पूर्वी चम्पारण, भागलपुर तथा नेपालका ऐतिहासिक बौद्धस्थल, बौद्धनाथ, स्वयम्भूनाथ, कपन गुम्बा, पोखरा र लुम्बिनी बौद्ध परिपथबाट जोडिनेछन् ।

बौद्ध सम्प्रदायबीच अन्तरराष्ट्रिय सम्बन्ध विस्तार तथा विश्व शान्तिमा योगदान गर्ने बौद्ध परिपथको परिकल्पना गरिएको सन्दर्भमा त्यसलाई विकास गर्ने चाहना प्रधानमन्त्री मोदीले व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री मोदीले नेपाल र भारतको मैत्री विश्वमै अतुलनीय रहेको चर्चा गर्दै दुवै देशका जनताले एकअर्कालाई असीम शब्दका साथ व्यवहार गर्ने गरेका बताउनुभयो । उहाँले नेपाल आउँदा र विशेषगरी पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र लुम्बिनीमा आफूलाई छुट्टै आध्यात्मिक अनुभूति हुने गरेको बताउनुभयो ।

उहाँले पटकपटक भगवान् बद्धको पवित्र जन्मस्थल नेपालको प्रशंसा गर्दै सगरमाथाको देश संसारका अनेकौँ मठमन्दिर र पवित्र स्थलले सधैँ पावन रहेको उल्लेख गर्नुभयो । नेपालको आर्थिक एवं व्यापारिक विकासमा टेवा पु¥याउन भैरहवामा एकीकृत जाँच चौकी निर्माण गरिने घोषणा गर्नाका साथै बौद्ध परिपथको विकास दुवै देशको साझा परियोजना हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.