विराटनगर महानगरको प्रमुख पदमा कोइरालाको अग्रता कायमै

विराटनगर- विराटनगर महानगरपालिकाको प्रमुख पदमा प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै रहेको छ ।

मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले मतगणना स्थल आदर्श माध्यमिक विद्यालयबाट जारी गर्नुभएको सूचनाअनुसार १८ हजार ६४ मतगणना गर्दा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले पाँच हजार ६९३, नेकपा (एमाले)का सागर थापाले चार हजार ८३ र स्वतन्त्र उम्मेदवार (लाल्टिन)का उमेश यादवले एक हजार ९७४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा नेकपा (एमाले)की शिल्पा निराला कार्कीले चार हजार ६८७, गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी नेपालका अमरेन्द्र यादवले तीन हजार ३६३, राप्रपाकी विन्दाकुमारी लुइँटेल आचार्यले एक हजार २२४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै विराटनगर–१६ को वडाध्यक्षमा नेपाली कांग्रेसका उद्धव भुजेलले ७५२ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन कार्यालयका सूचना अधिकारी बुढाथोकीले जानकारी दिनुभयो । विराटनगर–१८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्र साहले ७१६ मत ल्याएर विजयी हुनुभएको छ । अहिले महानगरपालिकाको वडा नं. १, २, ३, ४, ५, ६, १३, १४, १५ वडाको मतगणना भइरहेको छ । महानगरमा १९ वडा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.