मकवानपुरका दशपालिकामध्ये चारमा कांग्रेस, एमाले दुई र माओवादी एक स्थानमा विजयी

मकवानपुर- मकवानपुरको १० वटा स्थानीय तहमध्ये सातवटा तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । हेटौँडा उपमहानगरपालिकासहित तीनवटा तहको मतगणना जारी छ । आज अबेरसम्म प्राप्त नतिजाअनुसार एमालेले दुईवटा गाउँपालिमा अध्यक्ष र एउटामा उपाध्यक्ष जितेको छ । गठबन्धनतर्फबाट नेपाली कांग्रेसले चार गाउँपालिकामा अध्यक्ष र जिल्लाको एक मात्र नगरपालिकामा उपप्रमुख जितेको छ । माओवादीले एक नगरपालिकामा प्रमुख जितेको छ भने कांग्रेसले जितेका सबै चारवटा गाउँपालिकामा उपाध्यक्ष जितेको छ ।

वाग्मती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिकामा नेकपा (एकीकृत समाजवादी) ले अग्रता कायम राखेको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सत्तारूढ गठबन्धन विजयी भएको हो । थाहामा अघिल्लो निर्वाचनमा पनि माओवादी–कांग्रेसबीच चुनावी तालमेल भएको थियो र प्रमुख तथा उपप्रमुखमा माओवादी र कांग्रेसले नै जितेका थिए ।

त्यस्तै नेपाली कांग्रेसले साबिकको विजयलाई कायम राख्दै राक्सिराङ र बकैया गाउँपालिका जित निकालेको छ भने यसअघि एमालेले जितेका कैलाश र मकवानपुरगढी पनि जित्न सफल भएको छ । कैलाशमा माओवादी र कांग्रेसबीचमा मात्रै चुनावी तालमेल भएको थियो भने एमाले र एकीकृत समाजवादीले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका थिए । यस गाउँपालिकामा एमालेबाट अध्यक्ष जितेका टङ्क मुक्तान एकीकृत समाजवादी प्रवेश गर्नुभएको थियो । निर्वाचनमा पुन एकीकृत समाजवादीका तर्फबाट अध्यक्षका उम्मेदवार बनेका मुक्तानले अत्यन्तै न्यून मत पाउनुभएको छ ।

मकवानपुरको उत्तरी गाउँपालिका इन्द्रसरोवरमा अघिल्लो निर्वाचनमा एमाले विजयी भएको थियो । यो पटक पनि यहाँ एमालेले नै जित निकालेको छ । एकीकृत समाजवादी प्रवेश गरेका यहाँका निवर्तमान अध्यक्ष जीवन लामा पनि पालिकाको अध्यक्ष लड्नुभएको थियो । उहाँको पनि धरौटी जफत हुनपुग्यो । इन्द्रसरोवरमा एमालेका देवकृष्ण पुडासैनी विजयी बन्नुभयो । नवनिर्वाचित अध्यक्ष पुडासैनी अघिल्लो निर्वाचनमै अध्यक्ष लड्न शिक्षकबाट राजीनामा दिएर तयार हुनुभएको थियो तर पार्टीले उहाँलाई टिकट दिएको थिएन । यस पालिकामा एमालेले उपाध्यक्ष पनि जितेको छ ।

त्यस्तै एमालेले भीमफेदी गाउँपालिकामा पनि अध्यक्ष जितेको छ । उपाध्यक्षमा भने नेकपा (माओवादी) का उम्मेदवार सन्तोष श्रेष्ठले निवर्तमान उपाध्यक्ष पार्वती रानालाई १६ मतको झिनो मतान्तरले पराजित गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.