मनाङ : बाढीपहिरोको जोखिमले विद्यार्थी अन्यत्र सरे

मनाङ-  देशैभरमा सबैभन्दा कम विद्यार्थी भएको मनाङमा गत वर्ष बाढी पहिरोले धेरै क्षति भएको छ ।

बाढीपहिरोको असर यस वर्ष अझ बढी असर प्रत्यक्ष रुपमा देखिएको छ । बाढीपहिरोको असरले प्रत्यक्ष रुपमा विद्यालय र विद्यार्थीमा परेको छ ।

बाढीपहिरोको जोखिमको त्रासले अभिभावकले बालबालिका अन्यत्र सार्ने समस्या सिर्जना भएको छ । बाढीपहिरोका कारण अभिभावकले विद्यार्थी आफन्तकोमा राखेर विद्यालय परिवर्तनको समस्या रहेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताउनुभयो । साथै पाठ्यपुस्तक अभावले पठनपाठनमा अझ समस्या थपिएर पठनपाठन सकस भएको उहाँ बताउनुहुन्छ ।

“बाढीपहिरोको जोखिम अझै पनि छ । कतिपय निजी आवास निर्माण हुन सकेका छैनन् । अभिभावकले बाढीपहिरो आए आफू भागौला तर बालबालिका भाग्न सक्दैनन् भनेर आफन्तकोमा राखेर पढाउने भएकाले विद्यार्थीहरु घट्दो अवस्थामा रहेका छन्,” प्रअ कोइरालाले भन्नुभयो । मनाङमा शैक्षिक सत्र आधा सकिन लागेको छ । तर, विद्यार्थीको पठनपाठन राम्रोसँग हुन सकेको छैन ।

विद्यार्थीहरु विद्यालय आए पनि पुस्तक जिल्लामा आइनपुग्दा पठनपाठनमा सकस भएको कोइरालाले बताउनुभयो । उहाँका अनुसार पुस्तकका टपिक्स डाउनलोड गरी सम्भव भएसम्म विद्यार्थीहरुलाई हेन्सआउट दिएर पठनपाठन हुँदै आएको छ । “टपिक्स डाउनलोड गर्ने र फोटोकपि गरेर पठनपाठनलाई अगाडि बढाएका छौं, महाविपत्तिले त्रास नै त्रासमा पठनपाठन गराइरहेको अवस्थामा पाठ्पुस्तकको अभावले समस्या थपिएको छ,” कोइरालाले भन्नुभयो ।

लोकप्रिय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा सरीता गुरुङ पाठ्यपुस्तक नपाउँदा पुस्तक हेरेर होमवर्क गर्न समस्या भएको बताउनुहुन्छ । शिक्षकले सकेको सहज बनाउन खोजे पनि पुस्तकमा हेरेर पठनपाठन गर्न नपाउँदा अध्ययनमा समस्या थपिएको सरीता बताउनुहुन्छ । “शिक्षकले दिएका होमवर्क गर्दा पुस्तक हेर्न नपाउँदा समस्या हुन्छ ।

शिक्षकले पढाएका तर घरमा पठनपाठन गर्दा पुस्तक हेर्न नपाउँदा होमवर्क गर्न समस्या हुन्छ”, उहाँँले भन्नुभयो । लोकप्रिय मावि कक्षा १०मा अध्ययनरत छात्र जयराम थापाले नयाँ शैक्षिक सत्र शुरु भए पनि पुस्तक अभावमा शिक्षकले विभिन्न माध्यमबाट पठनपाठन अगाडि बढिरहेको बताउनुभयो ।

शिक्षकले पुस्तकको हेन्सआउट दिने गरेकाले पठनपाठनमा समस्या खासै नभएको उहाँको भनाई छ । प्रकाश ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक जगराम विश्वकर्माले गतवर्षको बाढीपहिरोले विद्यालयको क्षतविक्षत भएको र दुई शौचालय, एउटा हल क्षति भएपछि हालसम्म पनि त्रास रहेको बताउनुभयो । प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणका लागि लागिरहेको भएपनि अभिभावकले विद्यार्थी अन्यत्र लैजाने क्रम जारी रहेको विश्वकर्माले बताउनुभयो । “अभिभावकले बालबालिकालाई जोखिममा पढाउन नसक्ने भन्दै अन्यत्र लैजाने प्रक्रियाका लागि आउने गर्नुभएको छ । जोखिमपूर्ण अवस्थाबाट जोगाउँदै विद्यार्थीलाई सहज बनाउन सम्बन्धित निकायले ध्यान दिनुपर्छ । तर, बाढीपहिरोको जोखिमले विद्यार्थी घट्दो अवस्थामा रहेको छ,” उहाँले भन्नुभयो ।

नासों गाउँपालिका–१ तालगाउँस्थित भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक श्याम पन्थीले गत वर्षको बाढीले मनाङवासीलाई त्रसित बनाएको बताउनुभयो । “बाढीपहिरोले क्षति पुगेको निजी आवास अभिभावकले बनाउन सकेका छैनन् ।

यसवर्ष पनि बाढीपहिरोले त्रास हुने हो कि भन्ने अवस्था रहेको छ । अभिभावकहरु बाढीको त्रासले बालबालिकालाई अन्यत्र सार्ने गरेका छन्,” पन्थीले भन्नुभयो । विद्यालयमा बालबालिकाको सङ्ख्या घट्को अवस्था रहेको उहाँ बताउनुहुन्छ । “विद्यालय क्षेत्रमा तटबन्धन नगरिएको अवस्था रहेको छ । विद्यालयका तीन वटा कक्षा यस शैक्षिक सत्रमा तीन वटा कक्षा खाली भएको छ ।

अभिभावकले आफ्ना आफन्तको राखेर पढाउनका लागि लैजाने भएकाले विद्यालय नै शून्य हुने अवस्थामा पुगेको छ,” प्रधानाध्यापक पन्थी भन्नुहुन्छ, “बाढीको त्रासलाई न्यूनीकरण गर्नुपर्ने देखिन्छ । सम्बन्धित निकायले चासो दिनुपर्छ । विद्यालय परिसरको संरक्षण र सुरक्षित बनाउनका लागि संघ, प्रदेश र स्थानीय सरकारले प्राथमिकता दिन सके विद्यालयमा विद्यार्थी फर्काउन सकिन्छ ।” शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख मतिलाल चपाईले नयाँ शैक्षिक सत्र सुरु भइसक्दासम्म पनि जिल्लामा आवश्यक पाठ्यपुस्तक आइनपुगेको बताउनुभयो । आंशिक पाठ्यपुस्तक मनाङका लागि जनक शिक्षा सामग्री केन्द्रले पठाएको खबर भने पाएको उहाँ बताउनुहुन्छ ।

“आंशिक पाठ्यपुस्तकले पनि विद्यार्थीको पठपाठनमा सहयोग पुग्ने अपेक्षा गरेका छौं,” उहाँले भन्नुभयो । विकट क्षेत्रमा बाढीपहिरोको जोखिम र पाठ्यपुस्तक समयमा पुग्न नसक्नुले शैक्षिक सत्र सुरु हुनु अगावै विद्यार्थीहरु अन्यत्र सर्ने प्रक्रियाले जिल्लामा विद्यार्थी घट्ने क्रममा छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.