दिक्तेल बजार सडक ढलान सुचारु गर्न नगरपालिकाको अल्टिमेटम, ७ दिनभित्र नगरे कारबाही

खोटाङ– खोटाङको दिक्तेलबजारमा लामो समयदेखि रोकिएको सडक ढलान कार्य सात दिनभित्र सुचारु गर्न निर्माण कम्पनीलााई अल्टिमेटम दिइएको छ । ढलान नसकिँदा यातायात अवरुद्ध हुनका साथै विभिन्न समस्या आएको भन्दै काम सुचारु गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले निर्माण कम्पनी सूर्य–विकास जेभीलाई अल्टिमेटम दिएको हो ।

निर्माण कम्पनीलाई सोमबार पत्राचार गर्दै तोकिएको मितिभित्र काम सुचारु नगरे सम्बन्धित निकायमा कारबाहीको लागि सिफारिस गरिने नगर प्रमुख तीर्थराज भट्टराईले उल्लेख गर्नुभएको छ । सुर्य–विकास जेभीले दिक्तेलबजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको छ ।

सडक ढलान स्थगित हुँदा हिँडडुल गर्न समस्यादेखि सवारी दुर्घटनासम्मको जोखिम बढेको जनगुनासो छ । सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गालाई समेत आवश्यक पहल गरिदिन नगरपालिकाले पत्र पठाएको नगरप्रमुख भट्टराईको भनाइ छ । सडक अलपत्र हुँदा घर नै कुरुप देखिनुका साथै व्यापार–ब्यवसायमा समेत प्रभाव परेको स्थानीय सुनाउँछन् ।

सूर्य–विकास जेभीले सघन सहरी विकास तथा भवन निर्माण आयोजना ओखलढुङ्गाको २ करोड ७० लाख बजेटमा २०७८ चैत ८ गते सम्ममा सक्ने सर्तमा २०७८ असार ९ गते कामको सम्झौता गरेको थियो । हालसम्म सडक ढलानको भौतिक प्रगति करिब ६५ प्रतिशत मात्र देखिएको आयोजना प्रमुख तुल्सिराम खरबुजाले बताउनुभयो । निर्माण कम्पनीले भने असार मसान्तसम्ममा ढलान सम्पन्न गरिसक्ने प्रतिबद्दता जनाएको छ ।

मानव अधिकार चोकबाट बेसक्याम्पसम्मको खण्डमा गत असोज २२ गते राति ढलान सकिएको थियो । बेसक्याम्पदेखि नेपाल टेलिकमसम्मको सडक ढलान गर्न फराकिलो पार्न थालिए पनि अपेक्षित काम भने नभएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.