संसदमा बजेट : निर्यात प्रवर्द्धन र कृषिका कार्यक्रम सकारात्मक

काठमाडौँ- सांसदहरूले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)मा निर्यात प्रवद्र्धन र कृषिका कार्यक्रम सकारात्मक भएको बताउनुभएको छ ।

प्रतिनिधिभसभाको आजको बैठकमा बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिनुहुने सांसदहरूले मुलुकको अहिलेको आावश्यकताअनुसार सरकारले कृषि र निर्यातलाई प्राथमिकतामा राखेको भन्दै प्रशंसा गर्नुभयो । साथै उहाँहरुले कार्यान्वयनमा चुनौती रहेकामा सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो ।

बैठकमा सांसद पूर्णकुमारी सुवेदीले बजेट समग्रमा राम्रो भएको बताउँदे बजेटले शिक्षा, स्वास्थ्य, कृषि, बेरोजगार युवाका लागि कार्यक्रम ल्याएको उल्लेख गर्नुभयो । कृषिमा रुपान्तरण राम्रो पक्ष भएको उल्लेख गर्दै उहाँले वनको संरक्षण गरी सदुपयोग गर्ने खालका थप कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।

सांसद सरलाकुमारी यादवले निर्यात बढाउन आवश्यक पूर्वधार बढाउनुपर्ने बताउँदै मुलुक आर्थिक सङ्कटमा भए पनि आत्तिने अवस्था छैन भन्नुभयो । निजी क्षेत्र र निर्यात क्षेत्रलाई प्राथमिकतामा राखेको बजेट सकारात्मक भएको उहाँको भनाइ थियो ।

सांसद खगराज अधिकारीले सरकारले उत्पादन सिर्जना गर्नुपर्ने बताउँदै शेयरबजार दैनिक घटेको र अर्थतन्त्रलाई माथि उठाउने खास योजना नदेखिएको टिप्पणी गर्नुभयो । आफू स्वास्थ्यमन्त्री हुँदा स्वास्थ्य बीमा कार्यक्रम ल्याएको र सो कार्यक्रम अहिले निजी क्षेत्रलाई दिने कुरा गलत छ भन्नुभयो । साथै उहाँले बजेटमा हिजोका विकासलाई प्रतिस्थापन गरी नयाँ कार्यक्रम ल्याएको बताउनुभयो ।

सांसद एकवाल मियाँले गठबन्धनले गर्दा स्थानीय तहको निर्वाचनमा महिला पछाडि परेको उल्लेख गर्नुभयो । उहाँले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने ठाउँमा रुख नभएको भन्दै किन रोक्नुप¥यो भनी प्रश्नसमेत गर्नुभयो ।

सांसद सीतादेवी यादवले बजेट राम्रो भएको तर कार्यान्वयन प्रभावकारी हुन जरुरी रहेको उल्लेख गर्दै सरकारले ९८ प्रकारको औषधि निःशुल्क प्रदान गर्ने भनिए पनि स्वास्थ्यचौकीमा औषधि नपाइने गरेको बताउनुभयो ।

सांसद लक्ष्मणलाल कर्णले बजेटमा धेरै कार्यक्रम भएकाले कार्यान्वयनमा गाह्रो हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भावनामा कुरा गरेर कल्पनामा देश नचल्ने बताउँदै यथार्थमा रहेर कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले कृषिमा आत्मनिर्भर बनाउन चक्लाबन्दी कानुन लागू गर्नुपर्ने, कृषि उपकरणमा पर्याप्त सहुलियत दिनुपर्ने, सहकारी नीति लागू गर्नुपर्ने, सिँचाइको पर्याप्त सुविधा हुनुपर्ने सुझाव दिनुभयो ।

सांसद महोम्मद इस्तियाक राईले बजेटमा रहेका कार्यक्रम कार्यन्वयनमा चुनौति रहेको बताउनुभयो । उहाँले बजेटमा बाँकेका धेरै कार्यक्रम छुटेको बताउँदै पश्चिम नेपालको महत्वपूर्ण नेपालगञ्जको विमानस्थलको स्तरोन्नति गर्ने कार्यक्रमसमेत नभएको गुनासो गर्नुभयो । विद्युतीय सवारीसाधन र ड्राइफुडमा लगाइएको कर केही सीमित व्यक्तिलाई पोस्न ल्याइएको हो कि भनी उहाँले शङ्का गर्नुभयो ।

सांसद डा शिवमाया तुम्बाहाम्फे बजेट चुनावलक्षित भएको र हुबहु कार्यान्वयन हुन नसक्ने दाबी गर्दै समाजवादोन्मुख देखिएकोसमेत टिप्पणी गर्नुभयो । सबै सुकुम्बासी, भूमिहीन दलित र घरबारविहीनलाई उचित र समानरूपमा जग्गा र बासस्थानको व्यवस्था मिलााउनुपर्ने माग गर्नुभयो ।

सांसद दिव्यमणि राजभण्डारीले कृषि क्षेत्रमा क्रान्तिकारी कार्यक्रम रहेको उल्लेख गर्दै किसानलाई राहत दिने कार्यक्रम राम्रो छ भन्नुभयो । उहाँले मलखादको समयमै व्यस्थापन गर्न सुझावसमेत दिनुभयो । बजेटमा पर्यटनमा १० लाख भित्र्याउने लक्ष्य राम्रो भएको बताउँदै उहाँले यसबाट आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने धारणा व्यक्त गर्नुभयो । बजेट कार्यान्वयका लागि बाँकी आवश्यक प्रावधान मौद्रिक नीतिमा समेट्नुपर्ने उहाँको भनाइ थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.