परराष्ट्र नीतिलाई कमजोर बनाए प्रतिवाद : पोखरेल
काठमाडौं- नेकपा (एमाले) का सांसद ईश्वर पोखरेलले देशको असङ्लग्न नीतिलाई कमजोर बनाउने गरी कुनै सम्झौता गर्न नहुने बताउनुभएको छ । उहाँले परराष्ट्र नीतिलाई कमजोर बनाउने विषयलाई एमालेले सधैँ प्रतिवाद गर्ने पनि उल्लेख गर्नुभयो ।
प्रतिनिधिसभाको आजको बैठकमा समय माग गरेर बोल्दै एमालेका वरिष्ठ उपाध्यक्षसमेत रहेका सांसद पोखरेलले अहिले आएको स्टेट पाटनरसिप प्रोग्राम (एसपिपी) राष्ट्रको हित विपरीत रहेकाले स्वीकार्य नहुने बताउनुभयो ।
उहाँले आपूm उपप्रधान तथा रक्षामन्त्री भएका बेला उक्त प्रस्ताव आएको तर आफूले राष्ट्र हित विपरीत जान नमिल्ने भन्दै अमेरिकाको प्रस्तावलाइ अस्विकार गरेको दाबी गर्नुभयोे ।
उहाँले नेकपा एमालेले विगतमा यसको प्रक्रिया अघि बढाएको भनी पूर्वाग्रहपूर्ण अभिव्यक्तिहरु आइरहेको आरोप पनि लगाउनुभयो ।
उहाँले सन् २०१५ र २०१७ मा अमेरिकाबाट नेपालमा उक्त प्रस्ताव आएको र त्यो बेलामा सरकारको नेतृत्वमा एमाले नरहेको पनि स्पष्ट गर्नुभयो । उहाँले उक्त प्रस्ताव अघि बढाउनु हुँदैन भन्ने विषयमा आफू सचेत रहेको पनि बताउनुभयो ।
बैठकमा सांसद दुर्गा पौडेलले एसपिपी मुलुकको पक्षमा नरहेको उल्लेख गर्दै त्यसतर्फ गम्भिर हुनुपर्नेमा जोड दिनुभयो । यसले देशमा गम्भिर खतरा उत्पन्न भएको सङ्केत मिलेकाले त्यसलाइ अस्विकार गरेर अघि बढ्न आग्रह गर्नुभयो ।
एसपिपीले पार्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्नेमा सांसदको जोड
सांसदहरुले रणनीतिक साझेदारी कार्यक्रम (एसपिपी)ले नेपालमा पर्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ ।
राष्ट्रियसभाको विशेष समयमा बोल्दै उहाँहरुले नेपालमा अन्तराष्ट्रिय हस्तक्षेप हुन नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठले अहिले स्वाधिनताको विषयमा गम्भिर प्रश्न उठेको बताउनुभयो । नेपालको घोषित परराष्ट्रनीतिमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, असङ्लग्ननीति र स्वतन्त्र परराष्ट्रनीति उल्लेख रहेको उहाँले बताउनुभयो । सन्तुलित कुटनीतिमा विचलन आउँदा शक्ति राष्ट्रहरु कुनैले पक्षमा र अर्काेको विरोधमा प्रयोग गर्न खोजेको उहाँको भनाइ छ ।
अहिले एसपिपीका कारण राष्ट्रमाथि गम्भिर खतरा हुने सांसद श्रेष्ठले बताउनुभयो । एमसीसीको चर्चा हुँदा नागरिकले यसलाई विकास परियोजना होइन हिन्द प्रशान्त रणनीति हो भनेको र आफ्नो पार्टीले पनि यथास्थितिमा स्वीकार नगरौँ भनेको उहाँले बताउनुभयो । पार्टीसमेतले सहभागीतामा एमसीसी व्याख्यासहित पास गर्ने भने पनि व्यवहारमा त्यो नदेखिएको उहाँको भनाइ छ ।
नेपाललाई केन्द्रमा राखेर कुनै देशप्रति ‘प्रो’ बन्न नहुने र राष्ट्रहित केन्द्रीत स्वतन्त्र परराष्ट्र नीति अबलम्वन गरिनु पर्नेमा सांसद श्रेष्ठको जोड छ । सन्तुलित कुटनीति अबलम्वन गर्नुपर्ने र निजी स्वार्थका लागि राष्ट्रिय हित तिलाञ्जली दिन नहुने उहाँको भनाइ छ । देश कसैको पक्षमा प्रयोग हुन दिन नहुने, छिमेकी नीति अबलम्वन गर्नुपर्ने र दुवै छिमेकीसँग समनिकटताका आधारमा सम्बन्ध राख्नुपर्नेमा उहाँको जोड छ ।
सांसद् तुलप्रसाद विश्वकर्माले एसपिपी अमेरिकाले यस अघि नेपालले स्वीकार गरिसकेको र अब सम्झौता गर्न नपर्ने दाबी गरेको तथा सेनाबाट सम्झौता नगरेको बताएकाले वास्तविकताबारे सरकारले सदनमा स्पष्ट गर्नुपर्ने बताउनुभयो । सांसद जितेन्द्रनारायण देवले प्रधानमन्त्रीको अमेरिका भ्रमणले दुई देशको सम्बन्ध सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभयो । सांसद् भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री र प्रधानसेनापति अमेरिका जाँदा सम्झौतामा हस्ताक्षर हुँदैछ भनेर जनस्तरमा आक्रोस र चिन्ता रहेको बताउनुभयो ।
नेपाली कांग्रेसकी सांसद दुर्गा गुरुङले रुस र युक्रेनको युद्धका कारण अन्तरराष्ट्रिय रुपमा मलको अभाव रहेकाले यस वर्ष अझै बढी समस्या हुने देखिएको बताउनुभयो । सांसद देवेन्द्र दाहालले समाजवादको कुरा संविधानमा उल्लेख भए पनि सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रमको आधार विन्दु समाजवादको नभएको उल्लेख गर्नुभयो ।
सांसद् जयन्तीदेवी राई र बिमला राई पौडेलले महोत्तरीकी पीडित युवती न्याय माग्दै काठमाडौँमा भएकाले सरकारले उनलाई बचाउनुपर्ने र अपराधीलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद् सिंहबहादुर विश्वकर्माले कृषिजन्य उत्पादन बढाउने सरकारको लक्ष्य भए पनि नागरिकले समयमा मल नपाउँदा अपेक्षित लक्ष्य हासिल हुन नसक्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्