दोर्दीको आइपिओको बाँडफाँट
काठमाडौं- दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयरको बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडको कार्यालयमा आज प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीले निष्काशन गरेको आइपिओमा कूल १४ लाख ७१ हजार ६६५ जनाले एक करोड ६३ लाख ९७ हजार ११० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए ।
आवेदन दिएकामध्य ८८२ जना आवेदकको आवेदन रद्द भएको र बाँकी १४ लाख ७० हजार ७८३ योग्य आवेदकमध्ये दुई लाख एक हजार ९८६ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँट गरिएको छ । त्यसमा बाँकी नौ कित्ता शेयर १० कित्ता भन्दा धेरै माग गरी आवेदन दिएकामध्ये गोलाप्रथाबाट थप नौ जनालाई एकएक कित्ताका दरले बाँडिएको कम्पनीले जनाएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छुट्टाइएको शेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको दुई लाख ९७ हजार ८४० कित्तासहित गरी प्रतिकित्ता रु १०० अङ्कित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण शेयरको बिक्री खुला गरेको थियो । त्यसमध्ये ६५ हजार ८६५ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि र एक लाख नौ हजार ७७५ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी २० लाख १९ हजार ८३९ कित्ता शेयर मात्रै सर्वसाधारण लगानीकर्तामा वितरण गरिएको हो । बाँडफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट(मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।
पिपुल्स पावरको आइपिओ खुला
पिपुल्स पावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा रु छ करोड ३२ लाख ६० हजार मूल्य बराबरको छ लाख ३२ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बिक्री खुला गरेको हो ।
कम्पनीले कूल निष्कासनमध्ये आयोजनाबाट असर पर्ने इलाम जिल्लाको इलाम नगरपालिका– १ र ४ का बासिन्दालाई एक लाख ८९ हजार ७८० कित्ता र ती वडा बाहेक इलाम जिल्लाका बासिन्दाका लागि चार लाख ४२ हजार ८२० कित्ता शेयर खरिदका लागि आवेदन माग गरेको छ । लगानीकर्ताले आगामी असार २२ गतेसम्म उक्त माग बमोजिम शेयर खरिदका लागि आवेदन दिन सक्ने र सो अवधिमा मागबमोजिम आवेदन नपरे आगामी साउन ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।
कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका १ र ४ मा पर्ने पुवा खोलामा ४.९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै नेपाल बङ्गलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कर्मशियल बैंकको राँके, मङ्गलबारे, विलौते, तीन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिनसकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्