अछाम सदरमुकामका ६ स्थानमा निषेधाज्ञा जारी

अछाम- शान्ति, सुरक्षा कायम गर्न भन्दै जिल्ला प्रशासन कार्यालय अछामले सदरमुकाम मङ्गलसेन बजारका छ स्थानमा निषेधाज्ञा जारी गरेको छ ।

मङ्गलसेन दरबार क्षेत्र, अदालत, सरकारी वकिल कार्यालय, बैरागीधारा, कृषि ज्ञान केन्द्र, मङ्गलसेन नगरपालिका कार्यालय क्षेत्रमा विरोधका कार्यक्रम नगर्न भन्दै निषेधित क्षेत्र घोषणा गरिएको हो ।

तोकिएका निशेधित क्षेत्र उलंघन गरेको पाइएमा कानुनी कार्वाही हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनीले जारी गर्नुभएको सूचनामा तोडफोड, आगजनी, धम्की, कार्यालयको कामकाजमा अवरोध नगर्न भनिएको छ ।

अछामका पाँच दलले मङ्गलबार सदरमुकाम मंगलसेनमा प्रदर्शन गर्ने भएपछि सुरक्षा कायम गर्ने उद्धेश्यले जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

पीडित पक्षसहित अछामका पाँच दलले आइतबार र सोमबार जिल्लाका सवारीसाधन दुई दिन बन्द गराएका थिए । प्रहरी र आन्दोलनकारीबीचमा मङ्गलसेनमा झडपका क्रममा दुवै पक्षमा घाइते भएका छन् ।

झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले दश राउण्ड अश्रुग्यास प्रहार गरिएको थियो । पञ्चदेवल विनायक नगरपालिका ४ कालिकास्थान निवासी १६ वर्षीय विनोद शाहीको हत्यारा कार्वाहीको माग गर्दै जेठ २१ बाट पीडित पक्षले आन्दोलन गरिरहेको छ ।

पीडित पक्षले एक महिना अघि १३ जना विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको छ ।

हत्याको आरोपमा पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख सहित सात जना प्रहरी हिरासतमा रहेका छन् । अन्य छ जना फरार रहेको बताइएको छ ।

जेठ १७ गते बेलुकाबाट बेपत्ता भएका विनोद पाँच दिनपछि पञ्चदेवल क्याम्पस नजिक मध्यपहाडि सडकभन्दा तल खोचमा मृत अवस्थामा फेला परेका थिए ।

जेठ २१ गते मृत फेला परेका शाहीका आफन्तले हत्यारालाई कार्वाही नभएसम्म शव रोकेका कारण जेठ २५ गते घटनास्थलबाट शव उठाइएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.