बुढिगंगा मतगणना अपडेट : २७ सय ४० मतगणना हुँदा एमालेको अग्रता
दुईवटा वडा एमाले विजयी
बाजुरा- बुढिगंगा नगरपालिकामा २७ सय ४० मतगणना हुँदा नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेका नगरप्रमुखका उम्मेदवार राम बहादुर बाँनियाले १५ सय ९२ मत ल्याउनुभएको छ भने कांग्रेसका नगरप्रमुखका उम्मेदवार रङ्ग बहादुर खातीले ९ सय ९० मत प्राप्त गर्नुभयो ।
नेकपा एमालेका उपप्रमुखका उम्मेदवार माया कुमारी खडकाले १५ सय ५७ मत ल्याउनुभएको छ भने कांग्रेसका उपप्रमुखका उम्मेदवार रिता शाहीले १ हजार १६ मत ल्याउनुभयो । वडा नम्बर २ र ९ को मतगणना भइरहेको दुबैमा एमाले वडाअध्यक्षको अग्रता रहेको छ ।
मतगणना सकिएको १ नम्बर र १० नम्बर वडामा एमाले विजयी भइसकेका छन् । बुढिगंगा नगरपालिका १ मा नेकपा एमालेका उम्मेदवार रण बहादुर थापा कांग्रेसका उम्मेदवार लोग बहादुर थापालाई पराजित गर्दै थापा विजयी हुनुभयो । विजयी रण बहादुर थापाले ३ सय ५३ मत ल्याएका थिए, भने लोग बहादुर थापाले ३ सय १८ मत ल्याउनुभयो ।
त्यस्तै बुढिगंगा नगरपालिका १० मा नेकपा एमालेका उम्मेदवार दल बहादुर साउदले काँग्रेसका उम्मेदवार मोहन बहादुर बुढालाई पराजित गर्दै साउद विजयी हुनुभयो । विजयी दल बहादुर साउदले ५ सय ४८ मत ल्याएका थिए भने मोहन बहादुर बुढाले ४ सय ८१ मत ल्याउनुभयो ।
बुढिगंगाको चुनाव असार २३ मा दोस्रो पटक भएको थियो । बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । कुल मतदाताको ६६.८३ प्रतिशत अर्थात ९ हजार १ सय २८ मत खसेको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थीले वताएका छन् । बैशाख ३० गते भएको चुनावमा भने ७५.५८ प्रतिशत मत खसेको थियो ।
बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्