अध्यक्ष दाहालसँग लिउ जियानचाओको भेट

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
चारदिने नेपाल भ्रमणमा रहनुभएका सिपिसीका विदेश विभाग प्रमुख लिउले आज अपराह्न अध्यक्ष दाहाल निवास खुमलटार पुगी भेटवार्ता गर्नुभएको हो । भेटवार्तामा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेता कृष्णबहादुर महरा, वर्षमान पुन, देवप्रसाद गुरुङ र नेत्री पम्फा भुसाल पनि सहभागी हुनुहुन्छ ।
भेटवार्ताका क्रममा माओवादी केन्द्र र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धका बारेमा छलफल भएको थियो ।
विदेश विभाग प्रमुख लिउले गर्नुभयो बिपी सङ्ग्रहालयको निरीक्षण
नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओले गोकर्णेश्वर नगरपालिका–१ स्थित बिपी सङ्ग्रहालयको निरीक्षण गर्नुभएको छ । विदेश विभाग प्रमुख लिउले बिपी कोइरालाले लामो समय जेल जीवन विताउनु भएको सङ्ग्रहालयको आज निरीक्षण गर्नुका साथै सङ्ग्रहालय परिसरमा वृक्षरोपण गर्नुभयो । विदेश विभाग प्रमुख लिउले सङ्ग्रहालयको अभिरुचिपूर्वक अवलोकन गर्नुभएको अध्यक्ष परशुराम पोखरेलले राससलाई जानकारी दिनुभयो ।
भूकम्पपछि सङ्ग्रहालयको पुनःनिर्माण, विगतदेखिको नेपाल चीन मित्रवत सम्बन्ध र बिपी कोइरालाको योगदानको उहाँले स्मरण गर्नुभएको थियो । विदेश विभाग प्रमुख लिउले सङ्ग्रहालयमा रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गर्नुभएको थियो ।
अध्ययनका क्रममा बिपी कोइरालालाई आफूले बुझेको बताउनुहुँदै उहाँले सङ्ग्रहालयको अवलोकनले प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई नजिकबाट बुझ्ने अवसर पाएको बताउनुभयो । सङ्ग्रहालयका अध्यक्ष पोखरेलले कोइरालाको समग्र पक्षका बारेमा चिनियाँ विदेश विभाग प्रमुख लिउलाई जानकारी गराउनुभएको थियो ।






प्रतिक्रिया राख्नुहोस्