नेपाली सेनाले निर्माण गरेको १८ किलोमिटर सडक हस्तान्तरण
गोरखा- नेपाली सेनाले निर्माण गरेको ‘बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ’ सडकको १८ किलोमिटर सडक खण्ड ‘११ किलो-छेपेटार- भालुस्वाँरा-बारपाक’ सडक आयोजनालाई हस्तान्तरण गरिएको छ ।
धार्चे गाउँपालिका वडा नम्बर ७ हावाडाँडादेखि वडा नम्बर ३ दोभान सम्मको उक्त खण्ड सोमवार आयोजना कार्यालयलाई हस्तान्तरण गरिएको नेपाली सेनाका प्राविधिक सेनानी बिनोद भट्टले बताउनुभयो ।
नेपाली सेनाको बिकास निर्माण निर्देशनालय अन्तर्गत बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माण कार्यदलले अहिले सम्म ३२ दशमलव पाँच किलोमिटर सडकको ट्रयाक खोलेको छ ।
यो मध्ये १८ किलोमिटर खण्ड आयोजनालाई हस्तान्तरण भएको हो । प्राविधिक सेनानी भट्टले ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालय गोरखाका प्रमुख पशुपति ज्ञवालीलाई सडक हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले उक्त खण्ड नियमित सवारी साधन चल्ने बनाउन सडक आयोजना कार्यालयको ध्यानाकर्षण गराउनुभयो । साथै उनले उक्त सडक लार्के भञ्ज्याङ सम्म जोडिँदा उत्तरी गोरखाका जनताका लागि सुविधा हुने हुँदा छिटो निर्माण गर्नुपर्नेमा जोड दिए ।
धेरै समस्याका बिच पनि सेनाले सडक निर्माण गर्न सफल भएको बताउनुभयो ।
हावाडाँडादेखि लार्के भञ्ज्याङ सम्मको ९२ किलोमिटर मध्ये अझै ७४ किलोमिटर सडक सेनाले हस्तान्तरण गर्न बाँकी छ । १४ दशमलव पाँच किलोमिटर सडकको ट्रयाक खोलिसकिएको र करिब ६० किलोमिटर सडकको ट्रयाक खोलिएको छैन ।
सहज रुपमा सवारी साधन आउजाउ गर्न मिल्ने भएको र स्थानीयको मागका आधारमा पनि सेनाले निर्माण पुरा भएको १८ किलोमिटर सडक हस्तान्तरण गरेको जनाएको छ । यो गोरखा र तिब्बत जोड्ने सडक हो । गोरखाको चुमनुब्री गाउँपालिकामा अझै गाडी पुग्ने सडक बनिसकेको छैन ।
२०५२ सालमा बेनिघाट–आरुघाट–आर्खेत सडक निर्माण सुरु भएको हो । २०६३÷६४ मा बेनीघाट–लार्केभञ्ज्याङ सडक नामाकरण गरी सडक बिभागलाई निर्माणको जिम्मा दिईयो । २०६६÷६७ मा सडक आयोजनाले निर्माण सुरु गर्यो ।
भौगोलिक बिकटता, कडा चट्टान बिस्पोट गर्नुपर्ने लगायत कारण हावाडाँडादेखि माथि आयोजना कार्यालयले सडक निर्माण गर्न सकेन ।
अन्ततः मन्त्रिपरिषदको निर्णयबाट २०७३ मंसिर २६ गते हावाडाँडा देखि लार्केभञ्ज्याङ सम्मको सडक निर्माणको जिम्मा नेपाली सेनाले पायो । २०७४ बैशाख ११ गतेबाट सेनाले ट्रयाक खोल्न सुरु गरेको प्राविधिक सेनानी भट्टले बताउनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्