माओवादी बैठकमा प्रचण्डको भारत भ्रमणबारे छलफल
काठमाडौं- नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को आजदेखि हुने तीन दिने भारत भ्रमणका बारेमा छलफल भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजो साँझ बसेको बैठकले अध्यक्ष दाहालको भ्रमणले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने निष्कर्ष निकालेको छ ।
बैठकमा अध्यक्ष दाहालले आफ्नो भारत भ्रमणको तयारीका बारेमा ब्रिफिङ गराउनुभएको थियो । बैठकले उहाँको भ्रमण सफलताको कामना गरेको छ ।
करिब दुई महिना पहिले नै नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिनुभएको थियो ।
सो भेटका अवसरमा दाहालले जुलाईको पहिलो वा दोस्रो सातासम्म भ्रमण सम्भव हुने जवाफ दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
सोहीअनुसार नै भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले अध्यक्ष दाहाललाई भारत भ्रमणको औपचारिक पत्राचार गर्नुभएको थियो । दाहाल आगामी साउन १ गते आइतबार स्वदेश फर्कनुहुनेछ ।-






प्रतिक्रिया राख्नुहोस्