आगामी निर्वाचनसम्म तालमेल हुन्छ : प्रवक्ता महत

चितवन- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले तालमेल गर्न जटिल भए पनि आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनको तालमेल हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचनको अनुभवले पनि हामीलाई विश्वास बढाएको छ ।” स्थानीय निर्वाचनको नतिजालाई सबै दलले सन्तोषजनकरुपमा लिएको भन्दै उहाँले यसैलाई आधार मानेर निर्वाचनमा जाने बताउनुभयो । उहाँले भन्नुभयो, “मलाई विश्वास छ । यो गठबन्धन टुट्दैन ।” शीर्ष नेताहरू समेत गठबन्धन नतोड्ने पक्षमा रहेको उहाँको भनाइ थियो ।

तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिका र समग्रमा पार्टी पङ्तिको भावनाअनुसार हुने उहाँले बताउनुभयो । फरक प्रसङ्गमा उहाँले सरकारले अहिले देश विकास, स्थायित्व र जनआकांक्षाअनुसार काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारमा रहेर देशको विकास कसरी गर्न सकिन्छ भन्नेतर्फ हाम्रो ध्यान गएको छ ।” विषम परिस्थितिमा कांग्रेसको नेतृत्वमा सरकार बनेको भन्दै उहाँले त्यसको सामना गर्दै अघि बढेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले भ्रातृसङ्गठनले यही साउन महिनाभित्र पूर्णता पाउने बताउनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.