भरतपुर आँखा अस्पताललाई ‘आइएसओ’ चिह्न

चितवन- नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले आइएसओ ९००१:२०१५ गुणस्तर चिह्न प्राप्त गरेको छ । अस्पतालले गुणस्तरीय व्यवस्थापन गरेबापत यो अन्तर्राष्ट्रिय गुणस्तर चिह्न प्राप्त गरेको हो ।

हिजो आयोजित एक कार्यक्रममा युनाइटेड रजिष्ट्रार्ड (युआर) का देशीय निर्देशक प्रकाश पौडेलले नेपाल नेत्रज्योति सङ्घ तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज धरेललाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले अस्पतालले अन्तर्राष्ट्रिय गुणस्तर पाउनु खुसीको कुरा भएको बताउनुभयो । अस्पतालले लिएको दिगो विकासको लक्ष्य प्राप्तिको कामना गर्दै प्रमुख दाहालले यो चिह्न प्राप्तिसँग चुनौती थपिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो गुणस्तर चिह्नले भरतपुरलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाएको छ ।”

भरतपुर महानगर र भरतपुर आँखा अस्पताल सहयात्री भएको बताउँदै उहाँले भन्नुभयो, “अस्पतालको भवन निर्माणका लागि केही प्रक्रिया अगाडि बढेका छन् । हामीले गरेको प्रतिबद्धताअनुसारको त्यो जिम्मेवारी पूरा गर्नेछौं ।”

अस्पताल सञ्चालक समितिका अध्यक्ष धरेलले लामो समयको अथक प्रयासपछि अन्तर्राष्ट्रियस्तरको गुणस्तर चिह्न आइएसओ प्राप्त गर्न सफल भएको बताउनुभयो ।

सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल विसं २०४४ चैत १८ गते स्थापना भएको हो । ३५ वर्षमा अस्पतालले २३ लाखभन्दा बढी बिरामीलाई सेवा दिएको छ । त्यसमध्ये २२ लाख २० हजार ८६३ लाई बहिरङ्ग सेवा (ओपिडी) सेवा दिएको छ भने एक लाख सात हजार ६३६ को शल्यक्रिया गरेको छ ।

यस्तै गत आर्थिक वर्ष २०७८-७९ मा एक लाख ९६ हजार ४०० बिरामीलाई ओपिडि सेवा र नौ हजार ३२८ जनाको शल्यक्रिया गरिएको अस्पतालका सूचना अधिकारी रमेश घिमिरेले जानकारी दिनुभयो ।

भरतपुर आँखा अस्पतालअन्तर्गत भरतपुर उकालोमा बहिरङ्ग विभाग, तीनवटा सेकेण्डरी अस्पताल र १० आँखा उपचार केन्द्र हाल सञ्चालनमा रहेका छन् । चितवनसहित छ जिल्लामा अस्पताल र सेवा केन्द्र रहेका छन् । भारतीय नागरिकसहित १२ जिल्लाका बासिन्दाले अस्पताल र सेवा केन्द्रबाट प्रत्यक्षरुपमा सेवा पाएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.