अनौठो प्रचलन : चौंरीको खुन खाने मेलामा मानिसहरुको भीड

म्याग्दी- हिमालपारीको जिल्ला मुस्ताङको लेकाली खर्कमा याक र चौंरी गाईको खुन अर्थात रगत खाने मेला
लागेको छ ।

थासाब गाउँपालिका–२, मार्चे र मुलीखर्क तथा घरपझोब–५, नमखुलेक खर्कमा याक र
चौंरीको खुन पिउने मेला आयोजना गरिएको हो ।

हिमाली क्षेत्रमा पालिएका याक र चौरीको घाँटीबाट निकालेको (आलो रगत) अर्थात् खुन पिउनका
लागि मेला भर्न सर्वसाधारणको भीड लागेको छ ।

गएको बुधबारदेखि लगाइएको मेलामा मुस्ताङसहित म्याग्दी, पर्वत, बाग्लुङ, कास्की, स्याङ्जा, काठमाडौं र चितवनलगायत जिल्लाबाट सर्वसाधारणहरु पुगेका छन् यहाँ आएका छन ।

व्यावसायिक रुपमा चौंरीपालन गरेका कृषकहरु आफैंले आयोजना गरेको मेलामा चौंरीको खुन खान सर्वसाधारणको भीड लागेको नमखुलेकका कृषक भूपिन शेरचनले बताउनुभयो ।

मेलामा सर्वसाधारणसँगै सरकारी कर्मचारीको पनि बाक्लो उपस्थिति रहेको छ ।

जिउँदो चौरीलाई समातेर तालिम प्राप्त खुन निकाल्ने मानिस जसलाई स्थानीय भाषामा आम्जी भनिन्छ, उनीहरुले चौंरीको घाँटीमा सुइरो (चापो)ले नसाबाट रगत निकाल्ने गर्दछन् ।

मुस्ताङमा पालिएका याक तथा चौंरीको प्रत्येक वर्ष वैशाख र साउनमा गरी दुई पटकसम्म खुन खाने
मेला सञ्चालन हुँदै आएको छ ।

नमखुलेकमा पाँचजना कृषकले पालेका झण्डै तीन सयको हाराहारीमा याक तथा चौंरीगाई छन् । अहिले दैनिक १ सयजना भन्दा धेरै सर्वसाधारणहरु खुन खाने मेलामा सहभागी भएको कृषक शेरचनले बताउनुभयो । चौंरीको आलो रगतलाई प्रति गिलास दुईसय रुपैयाँ मूल्य तोकिएको छ ।

यता मार्चे र मुली खर्कमा लगाइएको मेलामा १६ जना कृषकहरुले पालेका ८ सयवटा याक तथा चौंरी गाई ल्याइएको छ भने यहाँ पनि खुन खान सर्वसाधारणको भीड लागेको छ । उच्च हिमाली क्षेत्रमा पालिएका याक तथा चौंरीले बहुमूल्य जटिबुटीहरु खाने भएकाले चौंरीको आलो रगत मानव स्वास्थ्यका लागि फाइदाजनक हुने चौंरीपालक कृषकहरु बताउँछन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.