नारायणगढ–बुटवल सडक : निर्माणकार्य सुस्त, यात्रा कठिन
काठमाडौँ- सामान्य अवस्थामा बुटवल–नारायणगढ यात्रा गर्न साढे दुई घण्टा लाग्ने गरेकामा अहिले सात घण्टा लाग्ने गरेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) क्षेत्र नं १ का सङ्घीय सांसद तिलक महतले बताउनुभयो । आफूले यसबारे बारम्बार संसद्मा ध्यानाकर्षण गराएको भएपनि निर्माणको कामले गति लिन नसकेको महतको भनाइ छ ।
पछिल्लो चार वर्षदेखि नारायणगढ–बुटवल सडकखण्डमा यात्रा गर्ने जो कोही पनि धुलो र हिलोका कारण आजित बनेका छन् । दुई लेनमा रहेको पूर्व–पश्चिम राजमार्गको यस खण्ड विस्तारको काम सुरु हुनु अघिदेखि नै सडकमा हुने खाल्डाखुल्डीका कारण समस्या हुँदै आएको थियो ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट पुल्चोकबाट बुटवलसम्मको करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडक खण्डको प्रायः सबै ठाउँमा खाल्डाखुल्डी छन् । यस खण्डमा पर्ने नवलपरासी पूर्व, नवलपरासी पश्चिम र रुपन्देही तीनवटै जिल्लामा लगभग पूरै सडकभरि खाल्डाखुल्डी मात्रै देखिन्छन् । चार लेनमा विस्तार भइरहेको राजमार्गका ठाउँठाउँमा बनेका ठूला खाल्डा बेलैमा नपुर्दा वर्षात्को पानी जमेर यात्रा कष्टकर बनेको यात्रु तथा चालकहरु बताउँछन् ।
नारायणगढबाट बुटवलसम्म साढे एक घण्टामा पुग्ने गरी सडक विस्तार भइरहेको भए पनि निर्माणमा ढिलासुस्ती हुँदा यात्रामा कठिनाइ हुने गरेको छ । सडक फराकिलो पार्ने जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम थालेको ४१ महिनामा १९ प्रतिशत मात्र काम सम्पन्न गरेको छ ।
साना–ठूला गरी दैनिक १० हजार सवारीसाधन ओहोरदोहोर गर्ने यो सडक निर्माणमा ढिलाई हुँदा सडक आसपासका बासिन्दा झनै प्रभावित भएका छन् । बुटवल–नारायणगढ सडक भएर यात्रा गर्नेमध्ये सबैभन्दा बढी समस्या एम्बुलेन्स चालकलाई हुने गरेको संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले बताउनुभयो ।
एम्बुलेन्सले सबै खालका बिरामी बोकेर चाँडो अस्पताल पु¥याउनुपर्ने बाध्यता रहेको भन्दै लामिछानेले बाटोका कारण बिरामीलाई समयमै अस्पताल पु¥याउन ढिला हुँदा उनीहरूको अवस्था जटिल हुने गरेको बताउनुभयो । सडकका खाल्डाखुल्डीका कारण एम्बुलेन्स चलाउन र बिरामीलाई समयमै अस्पताल पु¥याउन साह्रै समस्यामा हुने गरेको उहाँको भनाइ छ । मध्यविन्दुको चोरमाराबाट काठमाडौँ चल्ने माइक्रोबसका चालक वीरबहादुर महतोले बाटोमा खाल्डाखुल्डी बढी हुँदा सवारीसाधन गुडाउनै समस्या पर्ने गरेको बताउनुभयो ।
सडकमा भएका ठूला–ठूला खाल्डाका कारण गाडीको पट्टा भाँचिने, टायर खिइने समस्या बढी हुने गरेको चालकहरु बताउँछन् । “घाम लागेको बेलामा गाडी गुडाउँदा कहिलेकाहीँ त धुलो उडेर बाटो नै देख्न नसकिने अवस्था समेत आउँछ” महतोले भन्नुभयो, “खाल्डाखुल्डी मर्मत गर्ने र धुलो उड्न नदिने गरी पानी छर्किने हो भने हामीलाई गाडी चलाउन केही राहत मिल्ने थियो ।”
सडकको दुरावस्थाका कारण स्थानीयवासीसमेत मर्कामा परेका छन् । कावासोती–१६ डण्डामा फेन्सी पसल सञ्चालन गर्दै आउनुभएका दधि नेपालले राजमार्गमा उड्ने धुलो र हिलोका कारण आफूहरूलाई समस्या हुने गरेको बताउनुभयो । “सडक विस्तारका लागि भनेर धेरै ठाउँमा सडक छेउमा खन्ने र माटो थुपार्ने काम भएको छ” नेपालले भन्नुभयो, “यहाँ पानी पर्दा बाटो र पसलसमेत हिलो हुन्छ, घाम लाग्दा धुलो उडेर पसल फोहर हुने गरेको छ ।”
नारायणगढ–बुटवल सडकमा निर्माणको हालसम्मको निर्माण चित्तबुझ्दो नभएको र अहिले पनि निर्माण सुस्त भएको नारायणगढ–बुटवाल सडक योजना पूर्वी खण्डले जनाएको छ । पूर्वी खण्डमा अहिलेसम्म १७ दशमलव ७३ प्रतिशत र पश्चिम खण्डमा १९ दशमलव २९ प्रतिशत भौतिक प्रगति भएको योजना प्रमुख रमेशकुमार दिष्टिले बताउनुभयो ।
उहाँका अनुसार ठेक्का लाग्दाको अवधि दुई हप्ता मात्रै बाँकी रहेको छ । आयोजनाले ठेक्काको अवधि थप गर्न सिफारिस गरेर विभाग पठाएको छ । अवधि थपका लागि प्रक्रिया बढाइए पनि निर्माण कम्पनीको काम चित्तबुझ्दो छैन । कार्यालयको कारण वा कोभिडलगायतका कारणले भए अवधि थप गर्न सकिने तर निर्माण व्यवसायीका कारण नसकिएमा थप नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायीको कारणले भए जरिवाना गरिन्छ ।”
सडक निर्माणका लागि सडकको क्षेत्राधिकारमा रहेका संरचना रुख, विद्युतको पोल, खानेपानीको पाइप हटाउनु चुनौतीका रुपमा रहेको थियो । बिजुलीको ठाउँठाउँ अप्ठेरो भए पनि प्राधिकरणको समन्वयमा हटाउन लागिएको योजनाले जनाएको छ । अहिले निर्माणस्थल खाली गर्ने काम धेरै भइसकेको छ । उहाँले भन्नुभयो, “रुख काट्न दुई–चार वटा मात्रै बाँकी रहेको छ ।”
निर्माणाधीन १० मध्ये पनि पाँचमा माथिको स्लाप र बिम मात्रै (टप स्ट्रक्चर) राख्न बाँकी रहेको प्रमुख दृष्टिले बताउनुभयो । पाँचमा जगको काम भइरहेको छ भने दुई वटा साना पुलमा वर्षाका कारण काम हुन सकेको छैन । उहाँले भन्नुभयो, “ठेक्कामा गइसकेको छ, वर्षा कम भएपछि काम हुनेछ ।”
विद्युतीय पोल सार्ने र रुख कटान निर्माण कम्पनीले नै गर्ने गरी ठेक्का भएको थियो । कति काट्ने ‘कन्स्ट्रक्सन सर्वे’ मा उल्लेख छ । सडक निर्माण गर्दा एउटा सतह मिलाएपछि मात्रै पोल राख्नुपर्ने हुँदा सडक निर्माण सँगसँगै पोल व्यवस्थापन गर्नुपर्छ । उहाँले भन्नुभयो, “कतै डाँडा काटेर वा फिलिङ गरेर सडकको सतह मिलाएर सँगसँगै गर्नुपर्छ ।”
अत्याधिक सवारी चाप रहेको सडकमा अहिले सवारीसाधन निर्वाध रुपमा चल्न नसक्दा नागरिकले हैरानी बेहोरिरहेको उहाँले बताउनुभयो । अधिकांश समयमा वैकल्पिक सडक नहुँदा मुख्य सडक निर्माण गर्ने समयमा नागरिकले दुःख पाउने गरेको उहाँले बताउनुभयो ।
यस सडक खण्डमा २१५ कल्भर्ट र २२ साना पुल निर्माणाधीन रहेको छ । सडक निर्माण सम्पन्न गर्न केही समय अझै लाग्ने हुँदा तत्कालका लागि खाल्डा टालेर यातायात सजिलो बनाउन निर्माण कम्पनीलाई भनिएको छ ।
यो सडकसँगै वैदेशिक लगानीको कुनै पनि सडकमा प्रगति अपेक्षा गरिएअनुसार नभएको सडक विभागका प्रवक्ता भीमार्जुन अधिकारीले बताउनुभयो । उहाँका अनुसार गत आवमा वैदेशिक अनुदानको सडकमा प्रगति ५० प्रतिशतभन्दा कम रहेको छ । वैदेशिक लगानीको आयोजनामा तोकिएको अवधिसम्म पूरा गर्नुपर्ने भएपनि यो आवमा कति प्रगति हुने भन्नेले खासै फरक नपर्ने उहाँले बताउनुभयो ।
नारायणगढ–बुटवाल सडक निर्माणमा भइरहेको ढिलाइका विषयमा सदन र संसदीय समितिमा समेत पटकपटक छलफल भइरहेको छ । सम्बन्धित जिल्लाका सांसद वा सो सडक हुँदै जानुपर्ने जिल्लाका सांसद्ले पटकपटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
विसं २०१८ मा तत्कालीन राजा महेन्द्रले गैँडाकोटमा शिलान्यास गरेको झण्डै छ दशकपछि अहिले विस्तार भइरहेको छ । एसियाली विकास बैंक (एडिबी)का ऋण सहयोगमा विस्तार शुरु भएको सडक निर्माणको लागतमध्ये ८५ प्रतिशत एडिबीले ऋण उपलब्ध गराएको छ भने बाँकी नेपाल सरकारकै लगानी छ ।
एसियाली राजमार्गको मापदण्डमा विस्तारको काम भइरहेको नारायणगढ–बुटवल सडक खण्डमा नेपालमै पहिलोपटक वन्यजन्तु वारपार गर्न ‘ओभर पास’ निर्माण गरिने दिष्टीले बताउनुभयो । सो सडक खण्डमा वन्यजन्तुको अत्यधिक आवतजावत हुने क्षेत्रमा ‘ओभर पास’ निर्माण गर्ने तयारी गरिएको हो ।
चार लेनमा विस्तार हुने भनिए पनि राजमार्ग शहरी क्षेत्रमा छ लेन र दाउन्ने क्षेत्रमा तीन लेनमा विस्तार हुनेछ । सडक विभागले गत वर्ष नै मुग्लिन–नारायणगढ सडक विस्तार गरिसकेको छ भने नागढुङ्गा–मुग्लिन सडक विस्तारको तयारी अघि बढाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्