मधेश प्रदेश : लगानी र उत्पादनमा औद्योगिक सम्मेलनका सुझाव

सिमरा- मधेश सरकारले प्रदेशको आर्थिक बृद्धिका लागि वातावरण निर्माण गर्ने उद्देश्यका साथ बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलनले प्रदेश सरकारलाई ९ बुँदे सुझाव दिएको छ ।

नेपाल उद्योग परिसंघ, शिप परियोजना र युके एडको समन्वयमा मधेश सरकारले आयोजना गरेको औद्योगिक सम्मेलनमा उद्योगपतिहरुले प्रदेशमा आर्थिक वृद्धिको वातावरण निर्माणका लागि सरकारलाई ९ बुँदे सुझाव दिएका हुन ।

उनीहरुले मधेश प्रदेशमा पछिल्लो समय वृद्धि भएको आर्थिक गतिविधिलाई निरन्तरता दिँदै थप लगानीको वातावरण निर्माण गर्न उद्योग दर्ता, संचालन र उद्योगबाट बाहिरिने प्रक्रियालाई सरल एवं दूत गतिमा हुनुपर्ने सुझाव दिएका छन ।

मधेश उद्योग व्यवस्थापन ऐन हुनुपर्ने सुझाव पनि व्यवसायीहरुले दिएका छन ।

विरगंजमा स्थापना भएको एकद्वार प्रणालीले मधेश प्रदेशमा उद्योगहरुलाई सहज र सरल तरीकाले तीन दिनमै उद्योग दर्ता गर्ने महत्वपूर्ण काम भएपनि उद्योग दर्तालाई स्वचालित र डिजिटलाइज गरी थप सहजता प्रदान गर्नु पर्ने सुझाव पनि उद्योगीहरुको छ ।

प्रदेश ऐनमा अतिरिक्त सहुलियत घोषणा भए पनि संघीय सरकारसँगको समन्वय आवश्यक रहेको र स्थिर पुँजीको आधारमा उद्योगहरूको वर्गीकरण हुनु पर्ने सुझाव पनि उनीहरुको छ।

सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले उद्योगीहरुबाट आएको सुझावलाई प्रदेश सरकारले पालना गर्ने र संघीय सरकारसँग सम्बन्धित विषयका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

यस अघि सम्मेलनको क्रममा प्रदेश सरकारले प्रदेशको आर्थिक वृद्धिका साथै रोजगार सृजनामा योगदान दिने २३ उद्योगलाई विभिन्न सम्मान गरेको थियो ।

सम्मानित हुने उद्योगहरुमा त्रिवेणि स्पिनिङ मिल्स, जे स्पिनिङ मिल्स र एनपी एस इन्डस्ट्रिज रोजगारदाता विधामा सम्मानित भएका थिए ।

यसैगरी, मारुती सिमेन्ट, गणपति वनस्पति, अन्नपूर्ण तरकारी उत्पादन र नारायणी आयल रिफाइनरी उद्योगलाई एक्स्पोर्ट एक्सिलेन्स अवार्ड तथा सूर्य नेपाल, डाबर नेपाल र हिमालयन डिस्टिलरीलाई प्रदेशको सबैभन्दा बढी कर तिर्ने उद्योगको अवार्ड प्रदान गरिएको छ ।

साथै, निम्बस, इन्दु शंकर चिनी उद्योग लिमिटेड, कुश एग्रो इन्टरप्राइजेज, OCB Food and Feeds लाई कृषि व्यवसाय क्षेत्रमा आविष्कारको लागि अवार्ड र हुलास स्टील, शिव शक्ति प्याकेजिङ्ग, आरसी लीड र ब्याट्री उद्योग, महालक्ष्मी सोल्भेन्ट एण्ड रिफाइनरी, वल्ड लिंक, इन्टरनेट मार्केट टुडे र जानकी टेक्नोलोजि , शालिमार ग्रुप र जगदम्बा सिमेन्ट युवा उद्यमी अवार्डबाट  सम्मानित भएका छन ।

सम्मेलनमा करिब एक सय जना उद्योगीहरुको सहभागिता रहेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.