प्रधानन्यायाधीशको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध प्रतिनिधि सभामा दर्ता भएको महाअभियोग प्रस्ताव महाअभियोग सिफारिस समितिमा पठाइएको छ।

प्रतिनिधि सभामा आइतबार महाअभियोग प्रस्तावमाथि भएको छलफलपछि सभामुख अग्निप्रसाद सापकोटाले समितिमा पठाउन प्रस्ताव गर्नुभएको थियो । सभामुखको प्रस्ताव प्रतिनिधि सभाको बैठकले बहुमतले पारित गरेको हो।

महाअभियोग प्रस्ताव दर्ता भएको पाँच महिनापछि आइतबार प्रतिनिधि सभामा छलफल भएको थियो । सत्तारूढ गठबन्धनका सांसदले प्रधानन्यायाधीश जबरा विरुद्ध गत फागुन १ गते प्रतिनिधि सभामा महाअभियोग दर्ता गराएका थिए।

समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र शिवमाया तुम्बाहाङफे सदस्य छन्।

समितिले तीन महिनाभित्र महाअभियोग अगाडि बढाउने या नबढाउने निर्णय प्रतिनिधि सभामा सिफारिस गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.