आलु उत्पादन त बढ्यो तर चिन्ता भण्डारणको
रुकुम पूर्व- रुकुम पूर्वमा यसपालि आलु राम्रो उत्पादन भएको छ । जिल्लामा अघिल्लो वर्षको तुलनामा यो वर्ष धेरै फलेको हो । पुथाउत्तरगंगा गाउँपालिकाका किसानको मुख्य बाली नै मकै, आलु र सिमी रहेको छ ।
पालिकामा पहिलोपटक व्यावसायिक आलु उत्पादनमा लागेका चेबाङ कृषक समुह तकका किसानहरूलाई भण्डारणको चिन्ता लागेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत समूह बनाएर ६ हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलु उत्पादन गरेको समूहका अध्यक्ष मनकुमारी रोकामगरले जानकारी दिनुभयो ।
थबाङ्गी स्थानीय र जनकदेव जातका करिब चार क्विन्टल बिउ लगाइएको थियोे ।
आलु खन्ने क्रम जारी रहेकाले गाउँभरि करिब दुई सय मेट्रिकटनसम्म आलु उत्पादन हुने अपेक्षा गरिएको छ । एक हेक्टरमा २० देखि २५ मेट्रिकटन आलु उत्पादन हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयले जनाएको छ ।
आलु खन्ने क्रम जारी रहेकाले अहिले नै ठ्याक्कै यकिन भन्न नसकिने अवस्था रहेको छ । पहिलोपटक सामुहिक आलुखेती गरेर राम्रो आलु फलाए पनि किसानहरू खासै हर्षित देखिँदैनन् ।
नजिकमा ठूलो बजार अभाव र लामो समयसम्म भण्डारणको व्यवस्था नभएर कुहिएर खेर जान सक्ने भन्दै किसानहरू चिन्तित छन् । समूहका अध्यक्ष रोकाले बारीबाट निकालिएको आलु कहाँ राख्ने चिन्ता रहेको बताउनुभयो । गाउँमा भण्डारण केन्द्र नरहेकाले घरमा सुरक्षित राख्न सक्ने अवस्था नरेहको भन्दै आलु खेर जाने जोखिम रहेको किसानहरूले बताएका छन् । एकैपटक धेरै आलु बिक्री गर्न सक्ने अवस्था नरहेको र त्यसरी बेच्दा मूल्य नपाइने किसानको गुनासो छ ।
भण्डारण केन्द्र नहुँदा किसानहरू चिन्तित रहेको जिल्ला एकिकृत कृषि तथ पशुपंक्षी कार्यालयले जनाएको छ । गाउँपालिकाका अधिकांश ठाउँमा आलु उत्पादन हुने गरेको छ ।
भण्डारण केन्द्र नहुँदा बर्सेनि ठूलो मात्रामा आलु उत्पादन भए पनि आफू खाँदै बाँकी बंगुरको दाना बनाउने गर्छन् । आवश्यक पर्यो भने तत्कालै भण्डारण केन्द्रको व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरले बताउनुभयो ।
किसानबाट भण्डारणको प्रस्ताव आएमा बजेट विनियोजन गर्ने गाउँपालिकाको योजना रहेको छ ।
यसपटक सोचेभन्दा बढी आलु फलेको छ । उत्पादित वस्तुलाई लामो समय भण्डारण गर्न गाउँपालिकाले सोचिरहेको अध्यक्ष घर्तीले जानकारी दिनुभयो ।।
प्रतिक्रिया राख्नुहोस्