जारी छ, अवैध संरचना भत्काउने काम
काठमाडौं- झन्डै एक महिनादेखि काठमाडौँ महानगरपालिकाले सुरु गरेको अवैध संरचना भत्काउने काम जारी छ । सो कार्यअन्तर्गत कामपाले विशालनगरमा सञ्चालित मल्पी स्कुलले फुटपाथ मिचेर निर्माण गरेको एक सय मिटर कम्पाउन्ड भत्काएको छ ।
त्यसैगरी विशालनगरमा निर्माणाधीन अवस्थामा रहेको एडिबीको भवन निर्माणका क्रममा निर्माण सामग्री सडकमा राखेको पाएपछि ठेकेदारलाई रु २० हजार जरिवाना गराइएको छ ।
त्यस्तै कालीमाटी कुलेश्वरमा अवैध संरचना हटाउने सम्बन्धमा माइकिङ गरी पुनः सम्बन्धित व्यक्तिलाई नै हटाउन आग्रह गरिएको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।
अवैधरूपमा निर्माण भएका संरचना भत्काउने सम्बन्धमा कामपाले गत साउन १ गते दिएको ३५ दिने सूचनाको बेवास्ता गरेपछि यही भदौ ६ गतेदेखि त्यस्ता संरचनालाई डोजर लगाएर भत्काउन सुरु गरिएको हो ।
नक्साअनुसार निर्माण नगरिएका, नक्साअनुसार निर्माण गरिए पनि सोही अनुसार प्रयोग नगरिएका र सार्वजनिक जग्गा मिचेर बनाइएका सबै संरचना अवैध ठहर गर्दै कामपाले त्यस्ता संरचनामाथि डोजर चलाएर भत्काउन सुरु गरेको हो ।
हालसम्म कामपाले अवैध ठहर भएका सानाठूला गरी दुई सयभन्दा बढी संरचना भत्काइसकेको र आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने कामपाको भनाइ छ । उक्त कार्य कामपाले सुरु गरेको एक महिना बित्न नपाउँदै उपत्यकाका अन्य र उपत्यका बाहिरका स्थानीय तहले पनि यसलाई कार्यान्वयन गर्न थालेका छन् ।
हाल बेसमेन्ट र अन्डरग्राउन्ड पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेका छन् । ती सबैलाई कानूनी दायरामा ल्याउने कामपाको तयारी छ ।-
प्रतिक्रिया राख्नुहोस्