चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता
काठमाडौँ- नेपालको चारदिने औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमणको दोस्रो दिन मङ्गलबार विभिन्न उच्चस्तरीय भेटवार्तामा व्यस्त रहनुभयो ।
सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल भ्रमणमा रहनुभएका चीनका उच्चस्तरका नेता उहाँले बिहानैदेखि उच्चस्तरीय भेटवार्ता गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँले मङ्गलबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभयो ।
प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय व्यापार, लगानी, कनेक्टिभिटी, चीनमा अध्ययनरत नेपाली विद्यार्थी फिर्ता, यात्रु उडान सञ्चालन गर्ने, सीमा बन्दरगाह खोल्नेलगायतका आपसी हितका विविध विषयमा छलफल भएको थियो ।
चिनियाँ पक्षले एक चीन नीतिप्रति नेपालको अडान र नेपाली भूमि चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धताको खुलेर प्रशंसा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले चीनले विगतका वर्षदेखि नेपालको विकास प्रयासमा निरन्तर सहयोग गरेकामा प्रशंसा गर्नुभयो ।
सो अवसरमा अध्यक्ष लीले चीनले तिब्बतमा कोभिड–१९ को सङ्क्रमण नियन्त्रण गरेपछि छिट्टै सीमा बन्दरगाह खोल्ने र नेपालमा आगामी चाडपर्वका लागि सामान र अत्यावश्यक सामग्री ओसारपसार गर्ने कन्टेनरलाई सहजीकरण गर्ने आश्वस्त पार्नुभएको थियो ।
चिनियाँ प्रतिनिधिमण्डलले नेपालमा चिनियाँ सहयोगमा सञ्चालित आयोजना कार्यान्वयनका लागि पहल गर्ने जानकारी गराएको थियो । नेपालको अनुरोधको जवाफमा चिनियाँ पक्षले नेपालको एलडिसी स्थितिबाट सहज र दिगो स्तरोन्नतिलाई समर्थन गर्न सक्रिय प्रयास गर्न सहमत भएको समेत जनाएको छ ।
मङ्लबार नै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष लीबीच भेटवार्ता भयो । संसद् भवन नयाँ बानेश्वरमा उहाँहरुबीच भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।
भेटमा एमालेका तर्फबाट अध्यक्ष ओलीसँगै नेताहरु अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, डा राजन भट्टराई, अन्जान शाक्यलगायत हुनुहन्थ्यो ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष लीबीच आज प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भयो । भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो ।
भेटमा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष दाहालसँगै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय पम्फा भुसाल र शक्तिबहादुर बस्नेत, नेताहरु राम कार्की र रमेश मल्ल सहभागी हुनुहुन्थ्यो ।
दिउँसो परराष्ट्रमन्त्री डा नारायण खड्काले अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो । भेटवार्तामा दुई पक्षबीच नेपाल–चीन सम्बन्धका विभिन्न पक्षमा विचार आदानप्रदान भएको थियो ।
अध्यक्ष लीले आज अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । चिनियाँ प्रतिनिधिमण्डलले भ्रमणका क्रममा आज बिहान भक्तपुरस्थित दरबार क्षेत्रमा भूकम्पपछि पुनःनिर्माण भएका संरचनाको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ ।
अध्यक्ष लीको नेतृत्वमा छजना चिनियाँ उच्च अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी र अन्य स्टाफसहित ६७ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अध्यक्ष ली भ्रमण सम्पन्न गरी यही भोलि बिहान विशेष विमानबाटै स्वदेश फर्कनुहुने कार्यक्रम छ ।-
प्रतिक्रिया राख्नुहोस्