भैरहवा विमानस्थलबाट जजिरा एयरवेजका सातामा सात उडान
रुपन्देही- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले हप्तामा सातवटा उडान सुरु गरेको छ । गत जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एयरवेजले शुक्रबारदेखि सात उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।
भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक यात्रामा जाने यात्रुको सङ्ख्या बढ्दै गएपछि जजिरा एयरवेजले आफ्नो उडान हप्तामा सातै दिन राखेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भैरहवामा श्रमको कार्यालय सञ्चालनमा आएसँगै यात्रु माग अझै वृद्धि हुने देखिएको छ । अबुधाबी बेस रहेको विज एयरले पनि भैरहवा विमानस्थलबाट आउँदो अक्टोबर ३० तारिकबाट नियमित उडान गर्ने अनुमति पाइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
उक्त कम्पनीले टिकट बुकिङ लिनका लागि नागरिक उड्डयन प्राधिकरणबाट ‘नो अब्जेक्शन लेटर’ पाइसकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त एयरको उडान तालिका भने निश्चित हुन बाँकी छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म ११ हजार यात्रुले उडान अवतरण गसिकेका बताइएको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा विस्तारका लागि विमानस्थल सेवा शुल्कमा शत्प्रतिशत छुटको व्यवस्था गरेको छ भने नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिएको छ ।-
प्रतिक्रिया राख्नुहोस्