‘नेपाल चिनाउने अभियान’- नेपाल टेलिभिजनसम्म
काठमाडौँ- गोरखाका ईश्वर अर्याल अहिले स्कुल-स्कुलमा नेपालको नक्सा बाँड्दै हिँड्नुहुन्छ ।
कुनैबेला नेपालको आधिकारिक नक्सा बनाउने निकाय नापी विभागमा सेवा गर्नुभएका अर्याल अहिले जागिरबाट राजिनामा दिएर सामाजिक काममा लाग्नुभएको हो । सामाजिक काम पनि नापी विभागले निकालेको नेपालको आधिकारिक नक्सा विद्यालयहरुमा बाँड्ने नै हो ।
अहिले आफ्नो सबै समय विद्यालयहरुमा जाने र नेपाललाई चिनाउने अभियानमा हुनुहुन्छ-ईश्वर अर्याल । उहाँले अहिलेसम्म ७ वटा जिल्लाका ७७ वटा विद्यालयहरुमा नेपालको नक्सा निशुल्क उपलब्ध गराइसक्नुभएको छ ।
नेपालको काठमाडौँ, ललितपुर, धादिङ्ग, नुवाकोट, गोरखा, मकवानपुर र रुपन्देही जिल्लका धेरैजसो सार्वजनिक विद्यालयमा उहाँले नक्शा बाँड्नुभएको मात्र छैन, सामाजिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई नेपालको नक्सा बनाउन र विभिन्न ठाउँहरु चिनाउन पनि उहाँले कक्षा कक्षामा सिकाउनुहुन्छ ।
अर्यालको यो अभियानलाई गोरखा कै रामप्रसाद खनाल, हरि चन्द्र तिवारी र काठमाडौँ कालधाराका महेन्द्र अर्यालले सघाइरहनुभएको छ। रामप्रसाद खनाल नागर्जुन नगरपालिका वडा नं १ का जननिर्वाचित प्रतिनिधि पनि हुनुहुन्छ ।
नक्सा नै बाँड्ने अभियान भने आफ्नै घरको सानो घटनाक्रमले शुरु गराएको सम्झनुहुन्छ अर्याल । आफू नक्सा बनाउने अड्डामा काम गर्ने तर घरमा छोराले भने नक्सा बनाउँदा नमिलेको देखेपछि अर्याल अब आफ्ना छोरा जस्ता सबै छोराछोरीलाई नेपाल चिनाउनुपर्छ भनेर लाग्नुभएको स्मरण गर्नुहुन्छ ।
अर्याल भन्नुहुन्छ- ” स्कूले बच्चाले सानैदेखि देशको भूगोलबारे थाहा पाओस् र देशलाई मायाँ गर्न सिकोस् भनेर म र साथीहरु मिलेर यो अभियान शुरु गरेका हौँ।”
अर्याल र उहाँका सहयोगीहरुले नेपालको नक्सा बाँड्ने अभियान शुरु गरेको ७१ दिन भयो । अर्याल भन्नुहुन्छ- “अझै यो अभियान देशव्यापी बनाउँछौँ ।”
नापी विभागबाट नक्सा किनेर बाँड्दा उहाँ आँफैले यो खर्चको जोहो गरिरहनुभएको छ। अहिलेसम्म उहाँले करिव १२ हजार प्रति नक्सा किनेर बाँडिसक्नुभएको छ।
नक्सा बाँड्ने र नेपाल चिनाउने अभियानमा लाग्ने क्रममा अर्यालसहितको टोलीले नेपाल टेलिभिजनमा पनि आएर नक्शा वितरण गरेको छ । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीर जंग शाह र महाप्रबन्धक फुलमान बल तामाङ र व्यापार महाशाखाका निर्देशक राजकुमार थापालाई उहाँहरुले नेपालको नक्सा संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।।
प्रतिक्रिया राख्नुहोस्