सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा

काठमाडौं– सत्तारुढ गठबन्धनले गत साउनभित्रै प्रतिनिधि सभा र प्रदेश सभाको सिट बाँडफाँड टुंग्याउन तयारी गरे पनि सम्भव हुन सकेको छैन ।

झण्डै दुई महिनादेखि सिट बाँडफाँडको कसरत भइरहेको छ, तर कुनै निष्कर्षमा पुग्न सकेको छैन । कार्यदलका एक सदस्य जनता समाजवादी पार्टीका महासचिव राम सहाय प्रसाद यादवले कार्यदल तहबाट सुल्झाउन नसकिएको बताउनुभयो । ‘कार्यदलका संयोजकले हिजो एउटा प्रस्ताव गर्नुभयो,’ उहाँले नेपालटीभीअनलाइनसँग भन्नुभयो, ‘त्यसमा सबैको दलको विमत्ति रह्यो ।’

कांग्रेसलाई ९० देखि १०० सिट हुने गरी बाँडफाँड गरिएकोमा गठबन्धनका अन्य दल सन्तुष्ट हुन सकेनन् ।

करिव ३० भन्दा बढी सिटमा धेरै दलको दाबी रहँदा समस्या सुल्झिन नसकेको कार्यदलका सदस्यहरुको भनाइ छ ।

सत्तारूढ पाँच दलीय गठबन्धनले साउनभित्रै सिट बाँडफाट गर्ने गरी ११ सदस्यीय कार्यदल बनाएको थियो ।

कार्यदलमा नेपाली कांग्रेसबाट नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र सञ्चार मन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट नेताहरू वर्षमान पुन र देवप्रसाद गुरूङ हुनुहुन्छ ।

नेकपा एकीकृत समाजवादीबाट नेताहरू प्रमेश हमाल र बेदुराम भुषाल कार्यदलमा छन् भने जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ कार्यदलमा हुनुहुन्छ ।

FILE PHOTO

राष्ट्रिय जनमोर्चाबाट नेताहरू हिमाल पुरी र आनन्द शर्मा कार्यदल सदस्य हुनुहुन्छ ।

गठबन्धनका दलहरुबीच कार्यदल तह र शीर्ष तहमा अनेकौं पटक छलफल भएका छन् ।

कार्यदलमा कांग्रेसले मोटामोटी ९० सिट, माओवादीले ५०, एकीकृत समाजवादी र जसपाले १६/१७ र जनमोर्चाले एक वा दुई सिट लिने सैद्धान्तिक सहमति छ । तर, कतिपय क्षेत्रमा दुई या तीन दलले प्रतिष्ठानको विषय बनाएकाले बाँडफाँड जटिल बन्दै गएको छ ।

कांग्रेस आन्तरिक विवादले थप सकस
सिट बाँडफाँड टुंगोमा पुग्न लागेका बेला कांग्रेसमा आन्तरिक विवाद झन् चर्किएको छ ।

नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापा समूहको निरन्तरको दबाबले संस्थापन पक्ष निर्णयमा पुग्न सकेको छैन ।

कार्यदलका अर्का सदस्य भने समानुपातिक सूची हेरफेर भएसँगै सिट बाँडफाँड टुंगोमा पुग्ने दाबी गर्छन् । कोइराला–थापा समूहका केही आकांक्षीलाई समानुपातिकमा समेटेर गठबन्धनले टुंगोमा पुग्ने तयारी गरेको छ ।

महामन्त्री गगनकुमार थापाले सिट बाँडफाँडमा आफ्नो असन्तुष्टि सार्वजनिकरुपमा व्यक्त गर्नुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा थापाले पार्टी सत्ताको हतियार मात्र हुन लागेको बताउँदै विद्रोहको चेतावनी दिनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.