एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए

काठमाडौं– नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभामा १३५ निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ ।

बिहीबार राति अबेरसम्म बसेको सचिवालय बैठकले अधिकांश स्थानमा उम्मेदवार टुंगो लगाएको हो । ‘करिव १३५ स्थानमा टुंगो लगाएका छौं,’ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालटीभीअनलाइनसँग भन्नुभयो, ‘बाँकी अध्यक्षले परामर्श गरेर टुंग्याउनुहुन्छ ।’

बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको हो ।

पोखरेलका अनुसार पार्टीको आन्तरिक संघर्षपछि सहमति गरेर फर्किएका कतिपय नेताहरुको क्षेत्रमै सर्वाधिक विवाद छ । सहमतिपछि फर्किएका १० नेतामध्ये गोकर्ण विष्टको क्षेत्र गुल्मी १ मा मात्रै टुंगो लागेको छ ।

ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई र तिलकुमार मेन्याङ्बोबीच टिकटको लडाइँ छ । मधेस प्रदेश, रुपन्देही, काठमाडौं, चितवन लगायतका जिल्लामा उम्मेदवार टुंग्याउन समस्या भएको छ ।

एमालेले झापामा नै सबै उम्मेदवार टुंगो लगाउन सकेन । राप्रपासँग सम्भावित तालमेलका लागि क्षेत्र नम्बर ३ खाली राखिएको छ । पोखरेलले टुंगो लगाउन नसकिएको क्षेत्रमा ‘थप परामर्श गरिने’ बताउनुभयो ।

एकल सिफारिस भएका अधिकांश क्षेत्र टुंगिएका छन् । तर, एकल सिफारिस भएको झापा १ मा नै रविन कोइरालाको नामलाई अन्तिम रुप दिइएको छैन ।

मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग तालमेलको सम्भावना रहेकाले टुंगो लगाइएन ।

एमालेले समानुपातिक उम्मेदवारको नामावलीमा केही संशोधनसहित बन्दसूची शनिबार निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.