सार्वजनिक जग्गा मिच्ने बढे

काठमाडौँ, १५ असोज (रासस) : काठमाडौँ महानगरपालिकाले अवैध ढगाबाट निर्माण गरिएका भौतिक संरचना भत्काउने क्रममा सार्वजनिक जग्गा मिच्नेको सङ्ख्या बढी पाइएको जनाएको छ ।

कामपाले गत भदौ ६ गतेदेखि नक्सा पास बिना निर्माण भएको, निर्माण भएअनुसार प्रयोग नभएको र सार्वजनिक जग्गा मिचेका बनेका संरचनालाई अवैध ठहर गर्दै त्यस्ता सबै संरचना भत्काउन सुरु गरेको हो । कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले भन्नुभयो, “ कुनै न कुनैरुपमा सार्वजनिक जग्गा प्रयोग गर्ने सङ्ख्या बढी पाइएको छ ।”

सार्वजनिक जग्गा मिच्ने क्रममा फुटपाथको प्रयोग, पर्खाल निर्माण, सार्वजनिक जग्गामा टहरा निर्माणजस्ता कार्य गरिएको फेला परेको बताइएको छ । गत साउन १ गते कामपाले जारी गरेको ३५ दिने सूचनाको बेवास्ता गरेपछि कामपाले डोजर प्रयोग भत्काउने काम सुरु गरेको हो । आगामी दिनमा यस कार्यलाई निरन्तरता दिइने भएको छ । यसरी भत्काइएका संरचनाअन्तर्गत हालसम्ममा सबैभन्दा बढी बानेश्वर र नयाँ बसपार्क क्षेत्रमा बढी त्यस्ता संरचना भत्काइएका ेछ ।

डेढ महिनाकोमा १३५ संरचना भत्काइयो

कामपाका अनुसार यस अवधिमा ५६ स्थानका एक सय ३५ संरचना भत्काइएको बताइएको छ । जसमा सबैभन्दा बढी बानेश्वर क्षेत्रको छ । यही भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत कामपाले १९ स्थानका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ । बीस ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ ।

नक्सा पास नभई निर्माण भएका र नक्साअनुसार निर्माण भए पनि सोहीअनुसार प्रयोग नगरिएका र सार्वजनिक जग्गा मिचेर नर्माण गरिएको सबै संरचना अवैध ठहर गर्दै कामपाले उक्त संरचनामा डोजर लगाएर भत्काउन थालेको हो ।

बेसमेन्ट तथा जमिन तलालाई पार्किङरुपमा खाली गराइएका ठाउँमध्ये वडा नं १ दरबारमार्ग दुई वटा भवन छन् । यिनीहरु नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तला हुन् । वडा नं १४ कलङ्कीमा रहेको स्मार्ट तारा हाउसको भूमिगत तलामा रहेको कपडा पसल र एभरेष्ट गेष्ट हाउसको भूमिगत तलामा रहेको खाजा घर पनि हटाउने काम गरिएको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुभयो ।

वडा २६ सामाखुसीमा रहेको पुरानो अल नेपाल अस्पताल र खड्का भवन तथा रानीबारीमा रहेको सेञ्चुरी बैंक परिसरभित्र रहेका अनधिकृत पसल हटाइएका छन् । वडा नं १० बानेश्वरमा पर्ने पाँच जनाको स्वामित्व रहेको बानेश्वर प्लाजाको ई ब्लकमा भएको संरचना हटाएर पाँचवटै घरको पार्किङ बनाउने काम भएको छ । वडा नं २२ सुन्धारास्थित काठमाडौँ मलको भुइँ तलामा रहेको सटर हटाएर पार्किङका लागि खाली गरिएको छ । यही वडामा रहेका आरबी कम्प्लेक्स परिसरमा रहेका अनधिकृत टहरा हटाइएको छ । वडा नं २४ मा पर्ने सुरज आर्केट र कासा भवनको भुइँतला खाली गराइएको छ । वडा ५ क्षेत्रका सार्वजनिक ठाउँमा बनाइएका संरचना हटाइएको छ वडा नं ८ पाशुपत क्षेत्र सडक पेटीमा रहेको अनधिकृत संरचना, ओभरल्यापिङ र विज्ञापनमूलक सामग्री हटाइएको छ ।

त्यस्तै वडा १० को देउराली क्लब वरिपरि सडक पेटीमा राखिएका निर्माण सामग्री हटाइएको छ । वडा १६ को ढुङ्गेधारा, वडा १७ को धोबीचौर र वडा २४ को सुरज आर्केड अगाडिको सिँढी हटाइएको छ । वडा १६ कै माछापोखरी नापतौल कार्यालय अगाडि र महादेव खोला किनारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका अस्थायी गरेर ४३ वटा संरचना हटाइएको छ । वडा २४, २५ र २७ सँग जोडिएका असन, इन्द्रचोक, वडा २४ को मखनदेखि विशाल बजारतर्फ आउने गल्लीका, वडा २५ मा रहेका शन्तानेश्वर भवानी शङ्कर मन्दिर, उमाशङ्कर मन्दिर र सडक पेटीमा अतिक्रमण गरेर राखिएका संरचना संरचना हटाइएको छ ।

दसैँमा पनि रोकिँदैन अवैध संरचना भत्काउने काम

हिन्दुहरूको महान पर्व वडा दसैँ सुरु भइसकेको छ । कामपाले यस समयमा पनि अवैध संरचना हटाउने काम जारी राख्ने जनाएको छ । कामपाले अवैधरुपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम नरोकिने भन्दै यसलाई दसैँको समयमा पनि निरन्तरता दिने कामपा नगरप्रहरी निरीक्षक धर्मराज भण्डारीले जनकारी दिनुभयो ।

कानुनीरुपमा अवैध ठहर भएका सबै संरचना भत्काउने काम निरन्तर गरिनेछ त्यसका लागि कामपाले नक्साअनुरूप वैध, अवैध यकिन गरिरहेको छ निरीक्षक भण्डारीले भन्नुभयो । अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधान हुनाका साथै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । हाल बेसमेन्ट र अन्डरग्राउन्ट पार्किङ राख्ने सर्तमा कर छुट लिइरहेका ३५ वटा भवन रहेको कामपाले जनाएको छ । ती सबै किसिमका संरचनालाई कानुनी दायरामा ल्याउने तयारी छ ।

काठमाडौँ महानगरपालिकाले यही भदौ ६ गतेदेखि अवैधरूपमा निर्माण भएका र निर्माण भएअनुरूप प्रयोजन नभएका संरचना भत्काउन थालेसँगै अन्य स्थानीय तहले पनि यसलाई कार्यान्वयन गर्न थालेका छन् ।

कामपाले यही भदौ ६ गतेदेखि अवैधरूपमा निर्माण भएको संरचना भत्काउन थालेको हो । कामपाले सुरु गरेलगत्तै कीर्तिपुर नगरपालिकाले पनि गत भदौ ९ गतेदेखि नक्साविपरीत निर्माण भएका संरचना भत्काउन थालिसकेको छ । सात दिनको सूचना सार्वजनिक गर्दा पनि नागरिकले आनाकानी गरेपछि अवैधरूपमा निर्माण भएका संरचना भत्काउन थालिएको कीर्तिपुर नगरपालिकाको उपप्रमुख एवं प्रवक्ता शुभलक्ष्मी शाक्यले जानकारी दिनुभयो ।

भक्तपुरको थिमी नगरपालिकाले पनि अवैध संरचना हटाउने काम सुरु गरिसकेको छ । काठमाडौँ उपत्यकामा मात्रै होइन उपत्यका बाहिरका स्थानीय तहले पनि यसलाई विस्तारै अनुशरण गर्न थालेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.