तलेजु भवानी मन्दिरमा भक्तजनको भीड

काठमाडौं- प्रत्येक वर्ष महानवमीका अवसरमा मात्र खुला गरिने हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने सो मन्दिरमा हजारौँ भक्तजनको भीड लागेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिनुभयो । आजमात्र खुल्ने मन्दिर भएकाले लाम बस्ने जतिलाई दर्शन गराइने कार्यालयले जनाएको छ ।

यसैबीच तुलजा भवानीलाई नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुसार आइतबार बिहान १०:०५ बजे हनुमानढोका दरबार क्षेत्रको मूलचोकमा यात्रा गराइएको छ । तुलजा भवानीलाई त्यसै दिन बिहान ११:३५ बजेको साइतमा स्थिरासनमा राखिएको उहाँले बताउनुभयो ।

तलेजु भवानीलाई मूलचोकमै राखेर महाअष्टमी सोमबार राति कालरात्रि पूजाका साथ ५४ बोका र ५४ राँगाको बलिसहित पूजा आराधना गरिएको थियो । विजयादशमीसम्म तलेजु भवानीलाई यहीँ राखेर पूजा आराधना गरिन्छ । विजयादशमीका दिन बिहान समितिले दिएको साइतअनुसार बिहान ७:३५ बजे यात्रा गराइने छ । बिहान ८:४७ बजे तलेजु भवानीलाई मूल मन्दिरमा स्थिरासन गराइने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.