हुम्लाकाे लिमीमा दसैँमा पनि पठनपाठन सुचारू
हुम्ला- हुम्ला जिल्ला भरी दसैँकाे बिदा छ । तर उत्तरी नाम्खा गाउँपालिका- ६ काे लिमीका सामुदायिक विद्यालयमा भने पठानपाठन चलिरहेकाे छ ।
यहाँका स्थानीयले दसैं नमनाउने भएपछि विद्यालयमा नियमित पठनपाठन भएको हाे ।
सरकारले दसैँ बिदा दिएपछि जिल्लाभरीका विद्यालयमा पठनपाठन राेकिएका छन ।
हिमाल पारीकाे लिमीका तीन गाउँमा सार्वजनिक बिदा भएपनि खासै मतलब हुँदैन ।
“नाम्खा गाउँपालिका लिमिमा दसै तिहार नमान्ने गरेपछि हामीहरूले विद्यालय नियमित पठनपाठन सुचारू गरेका हाैं” नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जाेर तामाङले जानकारी दिए ।
वडाध्यक्ष तामाङका अनुसार सरकारी शिक्षकहरूलाई दसैं बिदा दिएपनि निजिश्राेतमा राखिएका स्थानीय शिक्षकले विद्यालय सुचारू गरेका छन ।
निजीश्राेतकाे शिक्षकलाई उवा भित्र्याउने बेला १५ दिन र उवा खेतमा छर्ने समयमा १५ दिन गरी एक महिना मात्रै बिदा हुने गरेकाे वडाध्यक्ष तामाङकाे भनाइ छ ।
लिमीकाे भृकुटी आधारभुत विद्यालय पनि सुचारू नै रहेकाे नाम्खा गाउँपालिका-६ जाँङका स्थानीय तेर्नजिङ नुर्वु लामाले बताए ।
“दसैंमा पनि विद्यालय सुचारू गरेका छाैं सरकारी दरबन्दीका शिक्षकहरूलाई असाेज १० गते नै बिदा भइसक्याे निजी श्राेतका शिक्षकले विद्यालय सुचारू गरेका छन ” सुनखानी आधारभुत विद्यालयका निजी श्राेतका शिक्षक कन्जाेक छिरिङ तामाङले बताए ।
३ जना निजी श्राेत, १ जना आधार नेपाल संस्था र ३ जना सरकारी दरबन्दी गरी ७ जना शिक्षक रहेपनि सरकारी दरबन्दीका ३ जना शिक्षक दसैं मनाउने घर गएका शिक्षक तामाङले बताए ।
“४ जना शिक्षकले विद्यालय सुचारू गरेका छाैँ । १९ छात्रा र १६ जना छात्र गरी ३५ जना विद्यार्थी विद्यालय नियमित आउँछन ।” शिक्षक तामाङले बताए ।
“३८ जना विद्याथी हुन तर ३ जना विद्यार्थी बिरामी भएर जिल्लाबाहिर गएका छन” शिक्षक तामाङले भने ।
“अब तीन दिन पछि हामीहरूकाे पनि १०दिनसम्म बिदा हुन्छ, उवा काटेर भित्र्याउने समय हाे ।” शिक्षक तामाङले नेपाल टेलिभिजनसँग बताए ।
लिमीकाे हल्जी गाउँकाे सुनखानी र जाँङ गाउँकाे भृकुटी आधारभुत विद्यालय दसैं बिदामा पनि नियमित सुचारू रहेका छन ।
हुम्ला जिल्लाभरी १ सय ५२ वटा विद्यालय छन । २७ वटा माध्यमिक विद्यालय ३१ निम्नमाध्यमिक र ९४ वटा आधारभुत विद्यालय रहेकाे शिक्षा विकास तथा समन्वय इकाइ हुम्लाका प्रमुख तिलक भट्टराईले जानकारी दिए ।।
प्रतिक्रिया राख्नुहोस्