देशभर बाढी पहिरोको बितण्डा

काठमाडौं– तीन दिनदेखिको वर्षाका कारण बाढी पहिरोले जनजीवन प्रभावित भएको छ ।

दसैंमा भएको वर्षाका कारण ठाउँ ठाउँमा पहिरो जाँदा गाडीहरु गन्तव्यमा पुग्न सकेका छैनन् । टिका ग्रहण गर्न जानेदेखि घरबाट कार्यक्षेत्र फर्किनेहरुसमेत प्रभावित भएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी भेगमा हल्का र पश्चिममा भारी वर्षा हुने भएको छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनीमा भारी वर्षा भइरहेको छ ।

पाल्पामा सबैभन्दा बढी १४३ मिलिलिटर वर्षा भएको छ । त्यसपछि लुम्बिनीको रुपन्देहीमा ११९ मिलिलिटर वर्षा भएको छ । मौसमविद् मञ्जु बासीका अनुसार आज गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा भइरहेको छ । बागमती र अन्य प्रदेशमा मध्यम तथा हल्का वर्षा भइरहेको छ ।

पृथ्वी राजमार्ग अबरुद्ध
अविरल वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्ड अबरुद्ध भएको छ । ठाउँ ठाउँमा पहिरो खस्दा राजमार्ग अबरुद्ध भएको हो । पहिरोका कारण गन्तव्यतर्फ हिँडेका सयौं सवारी बाटोमै रोकिएका छन् ।

नारायणीमा पानीको बहाव यस वर्षकै उच्च
अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७:३० बजे दिएको जानकारीअनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो ।

नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको छ । नौ दशमलव आठ मिटर पुगेपछि सतर्कता तह पार हुन्छ । नारायणगढ क्षेत्रमा बिहान ६ बजे नै पानीको सतह नौ दशमलव आठ मिटर पुगेको थियो । एघार मिटर पुग्नासाथ खतराको संकेत मानिन्छ ।

राप्ती नदीको बहाव बढ्दो, उच्च सतर्कता अपनाउन आग्रह
मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा खतराको तह पार गरेको छ ।

लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह छ दशमलव ३२ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ । राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गङ्गापुर, होलिया, बेतहनी, कम्दी गाउँलगायत स्थानमा बाढी आउँछ ।

गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो
लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ । रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रजिन रानाले जानकारी दिनुभयो ।

सिद्धार्थ राजमार्गको वालिङ–गल्याङ खण्ड अवरुद्ध
सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड अवरुद्ध भएको छ । आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।

निरन्तरको वर्षाले बेँसीसहर–चामे सडक अवरुद्ध
निरन्तरको वर्षाका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । बङ्गालको खाडीबाट उर्लिरहेको न्यून चापीय बायुको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा भएको निरन्तरको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो । अधिक वर्षा भएपछि उक्त सडक खण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

नारायणगढ–मुग्लिन सडक अवरुद्ध
नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ८M२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.