हिउँले सेताम्मे मनाङ (फोटो फिचर)

मनाङ- मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको छ ।

हिमपात भएपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन् । ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बुधबार रातीदेखि हिमपात भएको बताउनुभयो । “बिहान हिउँ मात्रै परेको थियो । अहिले हिउँसँगै वर्षा भइरहेको छ”, उहाँले भन्नुभयो । हुम्डेदेखि माथिल्लो क्षेत्रमा हिउँ परिरहेकाले चिसो ह्वात्तै बढेको उहाँले बताउनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले हिउँ परेपछि पर्यटक मनाङमा नै रोकिएका बताउनुभयो । मनाङ गाउँमा मात्रै ६० को हाराहारीमा बाह्य पर्यटक रहेको उहाँले जानकारी दिनुभयो ।

थोराङ्ला पास (५,४१६ मिटर) तर्फ याकखर्क, लेदर, थोराङ्ला फेदी (बेसक्याम्प), हाइक्याम्पलगायतका स्थानमा डेढ सय पर्यटक रहेको अनुमान गरिएको छ । तिलिचो ताल (४,९१९ मि.)तर्फ खाङसार, श्रीखर्क, तिलिचो बेसक्याम्पलगायतका स्थानमा पनि पर्यटक रहेका छन् । “हिमपात र वर्षाका कारण पहिराको जोखिम रहेकाले पर्यटकलाई जहाँ बसोबास गरिएको छ । सोही स्थानमा सुरक्षित बस्न र यात्रा नगर्न आग्रह गरिएको छ,” प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यले भन्नुभयो ।

नार्पाभूमि गाउँपालिकाको मेता (३,५६० मि.) देखि माथिल्लो क्षेत्र र मनाङ ङिस्याङ गाउापालिकाको हुम्डे (३,३०० मि.) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको उहाँले बताउनुभयो । सदरमुकाम चामेदेखि नै डाँडाकाँडामा हिमपात भएको छ । अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकको खोत्रो, धारापानी, कोत्रो र तिमाङ क्षेत्रमा बाढीपहिराले सडकमा क्षति पुर्‍याएको छ । सडकमा पहिरो खसेपछि बुधबारदेखि नै यातायात अवरुद्ध छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.