चुनावी तालमेलका लागि अन्तिम गृहकार्यमा दलहरु

काठमाडौं– मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका लागि दुई दिनपछि मनोनयनको कार्यक्रम छ । मनोनयनका दुई दिनअघि पनि मुख्य दलहरुले उम्मेदवारको टुंगो लगाएका छैनन् ।

प्रमुख दलहरुबीच अलग अलग ठाउँमा चुनावी गठबन्धनको गृहकार्य भइरहेको छ । सत्ता गठबन्धनका दलहरुबीच प्रधानमन्त्री निवास बालुवारटारमा बिहानैदेखि बैठक चलिरहेको छ ।

प्रमुख विपक्षी नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट केन्द्रित भएर बैठक गरिरहेको छ ।

सत्तारुढ दलहरुबीच कांग्रेसको नेतृत्वमा र एमाले नेतृत्वमा अरु दलको बैठक चलिरहेको छ ।

मनोनयनको अन्तिम समयमा सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) एमालेसँग नजिकिएसँगै चुनावी गठबन्धनको स्वरुपमा फेरबदलको संकेत भइरहेको छ । जसपाका एक नेता भन्छन्, ‘हामी दुईतिरै बराबर छलफलमा छौं, जसले अस्तित्व स्वीकार्छ, हैसियत दिन्छ, उसैसँग गठबन्धन गर्छौं ।’

जसपा बाहिरिने संकेतसँगै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) कांग्रेससँग नजिकिएको छ । लोसपाले बालुवाटारमै पुगेर सत्तारुढ दलसँग छलफल गरिरहेको छ ।

कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चा लगायतका दल चुनावी मैदानमा जाने तयारी गरेका छन् । जसपा र लोसपा अनिर्णीत रहँदा एमालेसँग राप्रपाको गठबन्धन निश्चितजस्तै देखिएको छ ।

दलहरुबीच गठबन्धनको टुंगो नलाग्दा टिकट वितरणमा ढिलाइ भएको छ । समयमै टिकट नदिए उम्मेदवारलाई विकट क्षेत्रमा गएर मनोनयन दर्ता गर्न कठीन हुने छ ।

निर्वाचन आयोगले मुख्य दलहरुबीच टिकट वितरणमा भएको ढिलाइले मनोनयनमा पर्न सक्ने प्रभावलाई नियालिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.