उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
काठमाडौं– प्रत्यक्ष निर्वाचनतर्फ हिजो मनोनयन दर्ता गरेका उम्मेदवारका विरुद्ध आज १० देखि ३ बजेसम्म उजुरी दिन सकिने छ ।
मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । उजुरी परेपछि आजै ३ बजेदेखि भोलि ५ बजेसम्म उजुरीको जाँचबुझ हुनेछ । भोलि साँझ ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्नुपर्ने हुन्छ । पर्सि बुधबार १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने दिन तोकिएको छ ।
त्यही दिन ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यक्रम रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ मा हुने निर्वाचनमा ६ हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
प्रतिनिधिसभाको १ सय ६५ वटै निर्वाचन क्षेत्रमा हिजो शान्तिपूर्ण र उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।।
प्रतिक्रिया राख्नुहोस्