महिलाहरुको उम्मेदवारी निकै कम

काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि महिलाहरुको उम्मेदवारी निकै कम परेको छ ।

निर्वाचन आयोगले प्रारम्भिक रुपमा उपलब्ध गराएको विवरण अनुसार महिलाको उम्मेदवारी १० प्रतिशतभन्दा पनि कम रहेको छ । प्रतिनिधिसभातर्फ उम्मेदवारी दिने महिलाको संख्या ९ दशमलव ३३ प्रतिशत मात्रै रहेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको चुनावमा दुई सय ३१ महिलाले उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता गरेका छन् । निर्वाचन आयोगको हिजो बेलुका ९ बजेसम्म प्राप्त तथ्याङ्कअनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचनमा प्रतिस्पर्धा गर्न दुई सय ३१ महिलाले उम्मेदवारी दिएका हुन् । उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट पाँच जना रहेका छन् ।

अर्घाखाँचीबाट कांग्रेस नेत्री तथा पूर्वउपसभामुख पुष्पा भुसाल, तेह्रथुमबाट सीता गुरुङ, मोरङ–२ बाट सुजाता कोइराला, सिरहा–२ बाट चित्रलेखा यादव र मकवानपुर–१ बाट महालक्ष्मी उपाध्याय ‘डिना’ रहनुभएको छ । त्यस्तै नेकपा (एमाले)का सात जनाले उमेदवारी मनोनयनपत्र दर्ता गरेका छन् । त्यसमध्ये स्याङ्जा–१ बाट पद्मा अर्याल, कञ्चनपुर–३ बाट निरूदेवी पाल, दाङ–१ बाट शान्ता चौधरी, दाङ–३ बाट कोमल वली, सुनसरी–३ बाट भगवती न्यौपाने, डोटीबाट गौरी ओली र कास्की–२ बाट विद्या भट्टराई रहनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)बाट काठमाडौँ–२ बाट ओनसरी घर्ती, काठमाडौँ–९ बाट कल्पना धमला, काठमाडौँ–७ बाट मानुषी यमी भट्टराई, ललितपुर–३ बाट पम्फा भुसाल र दाङ–२ बाट रेखा शर्मा गरी पाँच महिलाले उम्मेदवारी दिनुभएको छ । त्यस्तै नेकपा (एकीकृत समाजवादी)बाट गुल्मी–२ मा रामकुमारी झाँक्रीले उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट मोरङ–३ मा रेखा थापाले उम्मेदवारी दिनुभएको छ । प्रदेशसभामा तीन हजार तीन सय ९३ जनाको उम्मेदवारी दर्ता भएको छ । ति मध्य पुरूष तीन हजार ९९, महिला दुई सय ९३ र अन्य एक रहेको निर्वाचन आयोगले जनाएको छ ।

उम्मेदवारी नै कम परेको, त्यसमा पनि निर्वाचित हुने सम्भावना भएको क्षेत्रमा महिलालाई मनोनयन नै नगर्ने प्रवृत्तिका कारण उनीहरु निर्वाचित भएर आउँदा यो अनुपात अझै कम हुने जोखिम रहन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.