जनतालाई मालिक बनाउने गरी काम गर्छौं : वरिष्ठ नेता पौडेल
तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई मालिक बनाउने गरी काम गर्ने सपना रहेको बताउनुभएको छ । व्यास नगरपालिका–१२ स्थित कमलबारीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्नु अहिलेको मुख्य लक्ष्य रहेको बताउनुभयो ।
सहिदको बलिदानबाट प्राप्त भएका जनताका अधिकारलाई कुठाराघात गर्ने प्रवृत्ति हावी हुँदै गएकाले त्यसको रक्षाका लागि गठबन्धनले खबरदारी गर्दै आएको उहाँको भनाइ थियो । “मेरो अन्तिम इच्छा भनेको मैले गरेका अधुरा काम पूरा गर्नु छ, तपाइँहरूसँग मलाई एकपटक विजयी गराउन आग्रह गर्छु ।”
नेता पौडेलले गाउँमा विकास र रोजगारी सिर्जना गर्न जनतालाई मालिक बनाउने बताउनुभयो । “विदेशिने युवा शक्तिलाई स्वदेशमा बसेर रोजगारी गर्ने वातावरण मिलाइने गरी काम गरिनेछ”, उहाँले भन्नुभयो ।
गठबन्धनका प्रदेशसभा सदस्यका उम्मेदवार एवं नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य हरिबहादुर चुमानले गठबन्धन सत्ता, पद, निर्वाचनका लागि मात्रै नभई राष्ट्रियतासँग जोडिएको बताउनुभयो ।
देशमा सुशासन कायम गर्न सकिए मात्रै प्रजातन्त्रको स्थायित्व र भ्रष्टाचारलाई निरुत्साहित गर्न सकिने उहाँले बताउनुभयो । “कांग्रेस एक्लैले दुई तिहाइको बहुमत ल्याउन नसक्ने हुँदा देशको विकासमा काँचुली फेर्न गठबन्धन गरेर अघि बढ्न आवश्यक देखिएकाले सँगै हातेमालो गर्दै अघि बढेका हौँ”, उहाँले भन्नुभयो ।
गठबन्धनका उम्मेदवारले कार्यकर्ता भेटघाट कार्यक्रमको तालिका बनाएर शुक्रबारदेखि तनहुँ क्षेत्र नं १ अन्तर्गतका विभिन्न वडामा पुगेर घरदैलो कार्यक्रमलाई तीव्रता दिन थालेका छन् ।-
प्रतिक्रिया राख्नुहोस्