बझाङ दुर्घटना अपडेट : मृतक ७ जनाको सनाखत

बझाङ- बझाङको मष्टा गाउँपालिकामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । मृत्यु हुनेमा मष्टा गाउँपालिका -२ का १३ बर्षीया सम्झना खड्का, १५ बर्षीय रोशन खड्का, २८ बर्षीया बसन्ती धामी, १३ बर्षीय प्रचण्ड खड्का रहेका छन् ।

यस्तै ३८ बर्षीया बिरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र शुक्लाफाँटा नगरपालिका-७ कंचनपुरका ४२ बर्षीय झरेन्द्र बोहराको पनि दुर्घटनामा परी मृत्यु भएको छ ।

यसैगरी, दुर्घटनामा परी १६ जना यात्रु घाइते भएका छन्।

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये धेरैजसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीका अनुसार मृतकको संख्या अझै बढ्न सक्नेछ।

सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्ग्री बजारबाट मष्टा गाउँपालिका २ तर्फ गइरहेको जीप आज दिउँसो दुर्घटना भएको हो ।

जीप सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट घाइतेहरूको उद्धार प्रयास जारी रहेको भएपनि साँझ भएकाले हेलिकप्टर उड्न नसक्दा उद्धार कार्य प्रभावित भएको छ।

दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेको मष्टा गाउँपालिका वडा नं १ का वडाध्यक्ष रामचन्द्र रोकायाले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धार कार्यमा जुटिरहेका छन।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.